आइसोलेसन वार्ड नबन्दा कोरोना संक्रमित अलपत्र

आइसोलेसन वार्ड नबन्दा कोरोना संक्रमित अलपत्र

कपिलवस्तु : 'स्वाब परीक्षणबाट कोरोना भाइरस संक्रमण भएको पुष्टि भए पनि ८ घण्टासम्म स्थानीय तहले मलाई खोजेन', कोरोना संक्रमित वाणगंगा नगरपालिकाका स्थानीय २४ वर्षीय संचारकर्मीले दुखेसो पोखे । 'कोरोना संक्रमित भएको खबर आज बिहान पाएँ । मन झसङ्ग भयो, के गरम ? कसो गरम ? कसलाई भनम ? भन्ने भयो', उनले भने, 'यस्तो बेलामा मलाई नगरपालिकाको स्वास्थ्य शाखाबाट मनोपरामर्श तथा हौसला दिइनुपर्ने हो । तर नगरपालिकाले संक्रमण पुष्टि भएको ८ घण्टा बितिसक्दा पनि खासै चासो दिएन ।'

यस्तै पीडा कपिलवस्तु नगरपालिका वडा नं. ३ का स्थानीय संचारकर्मीको पनि छ । 'बिहान कोरोना संक्रमित भएको खबर पाए पनि आइसोलेसन वार्डमा लैजाने, कोरोनाविरुद्धको थप परामर्श दिने काम भएन', उनले भने, 'आइसोलेसन वार्ड तयार नगरिएका कारण होला मलाई कोही सम्पर्क सम्पर्कसम्म गर्न आएको छैन । आफ्नै कार्यालयमै बसेको छु', उनले भने, 'अहिले हेरौं कति बेला आइसोलेसन वार्डमा लैजान्छन्, थाहा छैन ।' 

जिल्लामा आइसोलेसन वार्ड बनाउन नसक्दा कोरोना संक्रमितहरु यसै गरी थप समस्यामा परेका छन् । आइसोलेसन वार्ड व्यवस्थापन नभएका कारण महाराजगंज नगरपालिका वडा नं. ९ तेनुवाका ८ जना स्थानीयलाई गाउँकै मदरसामा बनाइएको क्वारेन्टाइनमै राखिएको छ । उनीहरुलाई ४२ घण्टासम्म संक्रमित र अन्य सर्वसाधारणलाई एउटै मदरसामा राखिएको छ । 

मायादेवी गाउँपालिका वडा नं. ४ जनता प्रा.वि. सानो गौरामा ७ जना संक्रमित र सोही गाउँपालिकाको बलुहवा गाउँ स्थित जनता मा.वि.मा ५ जना संक्रमितलाई राखिएको छ । स्वाब परीक्षणबाट संक्रमति पुष्टि भएकालाई गाउँपालिकामै ५० वेडको आइसोलेसन वार्ड निर्माण गर्ने निर्णय भए पनि सो वार्ड बनिनसकेका कारण हालसम्म क्वारेन्टिन सरह नै विद्यालयमा राखिएको मायादेवी गाउँपालिकाका स्वास्थ्य संयोजक महेन्द्र यादवले बताए । 'पकडी स्थित तैवा हस्पिटल प्रा.लि.मा निर्माण गर्न लागिएको आइसोलेसन वार्ड तयार भएपछि संक्रमितलाई सो हस्पिटलमा स्थानान्तरण गरिन्छ', उनले भने । 

यसै गरी कपिलवस्तु नगरपालिका वडा नं. १२ मा ६४ जनामा आरडीपी परीक्षण गर्दा ११ जनामा कोरोना पोजिटिभ भेटिएको छ । उनीहरुलाई कोरोना पोजिटिभ भेटिए पनि व्यवस्थापनमा समस्या देखिएको वडा अध्यक्ष ओमप्रकाश पाण्डेयले बताए । उनीहरुलाई अलग्गै राख्न, हेरचाह गर्न, खानपिन र अन्य बन्दोवस्त मिलाउन आफूले नगर प्रमुखलाई खबर गरे पनि नगरपालिकाबाट केही सहयोग नभएको वडा अध्यक्ष पाण्डेयले बताए । 'खाना तथा आफूलाई आवश्यक अन्य सामाग्रीसमेत घरैबाट ल्याउने गरी जेन तेन सुत्नका लागि कोठा उपलब्ध गराएका छौं', वडा अध्यक्ष पाण्डेयले भने, 'अरु कुनै सेवा सुविधा तथा सतर्कता अपनाउन सकेका छैनौं ।'

प्रदेश सरकारले बुटल स्थित कोरोना अस्पताल र भैरहवा स्थित भीम अस्पतालमा कोरोना संक्रमित राख्न वेडको अभाव भएपछि कपिलवस्तु जिल्लामै २ सय ५० वेडको आइसोलेसन सेन्टर स्थापना गर्ने निर्णय गरेको थियो । सो निर्णय तत्काल कार्यान्वयन गर्न गराउन कपिलवस्तु जिल्लाका ४ स्थानीय तहहरु कपिलवस्तु नगरपालिका, मायादेवी गाउँपालिका, विजयनगर गाउँपालिका र शिवराज नगरपालिकालाई निर्देशन गरेको थियो । तर हालसम्म बिजय नगर गाउँपालिकाले मात्र ५० वेडको आइसोलेसन वार्ड तयार गरिसकेको छ । बाँकी अन्य ३ वटा स्थनीय तहमा २ सय वेडको आइसोलेसन सेन्टर तयार हुने क्रममै रहेका छन् । जिल्लामा ४ सुरक्षाकर्मी, २ संचारकर्मी, १ वडा अध्यक्ष, १ महिला स्वास्थ्यकर्मीसहित ७७ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.