कोराना संक्रमितलाई अब जिल्लामै राखिने
मलंगवा : सर्लाहीमा देखिएका कोरोना भारइस (कोभिड–१९) का संक्रमितलाई जिल्ला सदरमुकाम मलंगवामा नै राखेर उपचार गरिने भएको छ । संक्रमितहरुको उपचार हुने प्रादेशिक अस्पताल जनकपुर र वीरगंजमा ठाउँको अभाव भएपछि जिल्लामा नै आइसोलेशन कक्ष निर्माण गरिएको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जानकारी दिएका छन् ।
मलंगवा नगरपालिका २ मा रहेको सन्त अल्पमाई रामनारायण यादव नर्सिङ्ग कलेजमा आइसोलेशन वार्ड बनाउने काम भइरहेको प्रजिअ जिसीले बताएका छन् । रणशेर गणबाट आएका नेपाली सेनाको टोली र स्वास्थ्यकर्मीसहितको टोलीले वार्ड बनाउने काम गर्दै छ ।
५० वेडको आइसोलेशन वार्ड निर्माण गरिने गरी काम भइरहेको प्रजिअ जिसीले बताए । 'आइसोलेशन वार्ड निर्माण गर्नका लागि आइसियु र भेन्टिलेटरहरुको आवश्यकता पर्छ । जुन चिज यहाँ सम्भव छैन् । तर, रोगको पहिलो चरणको लक्षण देखिने संक्रमितहरुलाई उपचार गर्नका लागि नर्सिङ्ग कलेजमा आइसोलेशन वार्ड बनाउँदै छौं । गम्भिर प्रकृतिका लक्षण देखिएका संक्रमितलाई उपचारका लागि बाहिर नै पठाउँछौं', उनले भने, 'जनकपुर र वीरगंजका अस्पतालमा संक्रमित राख्ने ठाउँ नहुँदा शनिबार फेला परेका व्यक्तिलाई अहिले क्वारेन्टाइनमा नै राखेका छौं । बेलुकासम्म आइसोलेशन वार्डमा ल्याउने तयारी भइरहेको छ । संक्रमितहरुलाई क्वारेन्टाइनमा पनि छुट्टै राखेका छौं ।'
कलेजको छात्राबासमा आइसोलेशन वार्ड बन्दै गरेको कलेजकी संयोजक आशा कुशवाहाले जानकारी दिएकी छिन् । प्रशासनिक भवनसँगै रहेको छात्राबासमा वार्ड बनाउँदै गरेको उनले बताइन् । विधार्थी चैत्रमा नै घर गइसकेको हुनाले छात्रा खाली रहेको उनले बताइन् ।