सर्लाहीका कोरोना संक्रमितलाई मलंगवाको आइसोलेसन वार्डमा राखियो
मलंगवा : सर्लाहीको दक्षिण-पश्चिम क्षेत्रमा रहेको गोडैता नगरपालिकाका कोरोना भाइरस (कोभिड-१९) का संक्रमितलाई सदरमुकाम मलंगवामा बनाइएको आइसोलेसन वार्डमा ल्याएर राखिएको छ । शनिबार फेला परेका १२ जना संक्रमितलाई जिल्लामा बनाइएको आइसोलेसन वार्डमा ल्याएर उपचार भइरहेको छ।
मलंगवा २ मा रहेको सन्त अल्पमाई रामनारायण यादव नर्सिङ कलेजमा बनाइएको आइसोलेसन वार्डमा संक्रमितलाई शनिबार राती नै ल्याएर उपचार सुरु गरिएको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जानकारी दिएका छन् ।
प्रादेश अस्पताल जनकपुर र नारायणी उपक्षेत्रीय अस्पताल वीरगंजमा ठाउँ अभाव भएपछि जिल्लामा नै आइसोलेसन वार्ड बनाएर संक्रमितलाई राखिएको हो । उक्त वार्ड प्रदेश २ सरकारको सामाजिक विकास मन्त्रालयअन्तर्गत रहेको सर्लाही जिल्ला अस्पतालले व्यवस्थान गर्ने गरी संचालन गरिने भएको छ ।
लालबन्दीको नवलपुरस्थित रणशेर गणका सेना र स्वास्थ्यकर्मीको सहयोगमा वार्डको निर्माण गरिएको हो। संक्रमणको पहिलो चरणका लक्षण देखिनेलाई यहाँ राखेर उपचार गरिने व्यवस्था गरिएको हो ।
गम्भीर प्रकृतिका लक्षण देखिने बिरामीलाई भने बाहिर नै पठाउने प्रजिअ जिसीले बताए। अहिल ५० वेडको वार्ड बनाइएको छ । आवश्यक परे थप पनि गर्न सकिने प्रजिअले बताए ।उनका अनुसार भवन ठूलो छ । संक्रमितको संख्या अनुसार बढाउन पनि सकिन्छ । छात्राबास भवनमा वार्डको निर्माण गरेका छौं । विद्यार्थीहरु घर गएकाले उनीहरुको सामानलाई प्रशासनिक भवनमा सारेर छात्राबासमा वार्डको निर्माण गएिको हो ।
अहिलेसम्म जिल्लामा संक्रमितको संख्या ३३ पुगेको छ। तथापी ३२ जनाको पहिचान अहिलेसम्म मात्र भएको छ । गोडैता नै ठेगाना भनिएका एकजनाको पहिचान हुन बाँकी रहेको छ । बाहिर नै भएकाले उनको पहिचान हुन सकेको छैन् ।