लकडाउनमा पनि सुनथराली विमानस्थलको काम धमाधम
कालिकोट : जिल्लाको नरहरीनाथ गाउँपालिका १ मा रहेको सुनथराली विमानस्थल निर्माणको काम लकडाउनमा पनि धमाधम भइरहेको छ । विश्वभरी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको त्रासका कारण जिल्लामा अन्य विकास निर्माणका कामहरु ठप्प भएपनि विमानस्थल निर्माणको काम भने सामाजिक दूरी कायम गरी नियमित संचालन गरिएको हो ।
२०४२ सालबाट निर्माण कार्य थालिएको उक्त विमानस्थल परीक्षण उडानमा मात्रै सीमित छ । अहिले विमानस्थलको धावनमार्ग पिच गर्ने, घेरबार गर्ने र टर्मिनल भवन निर्माणको काम भइरहेको छ ।
निर्माण सुरु भएको ३५ वर्षसम्म जम्मा ४५ प्रतिशत मात्र काम सम्पन्न भएको छ । अझै उक्त विमानस्थलको ६५ प्रतिशत काम बाँकी छ । विमानस्थल निर्माण आयोजनाका सुपरभाइजर गणेशकुमार बिष्टका अनुसार हाल काम भइरहेको घेरबारको काम ४० प्रतिशत, धावनमार्ग पिच गर्ने काम २५ प्रतिशत र टर्मिनल भवनको काम भर्खरै सुरु गरिएको छ ।
हाल कालोपत्रे १३ करोड ८६ लाख, घेरबार ३ करोड ३३ लाख, टर्मिनल भवन ३ करोड ४३ लाखको बजेट कार्यन्वयन भईरहेको छ । यस अघि करीव २७ करोड बजेट खर्च भइसकेको छ ।
लामो समयको पर्खाई पछि २०७३ माघ २९ गते परीक्षण उडान भएको कोटबाडा विमानस्थलमा अहिलेसम्म नियमित उडान हुन सकेको छैन । नियमित उडानका लागि अझै एक वर्ष लाग्ने आयोजना प्रमूख रत्नबहादुर श्रेष्ठले बताए । उनले भने, ,'सुनथराली विमानस्थलको काम हालसम्म जम्मा ३५ प्रतिशत काम सम्पन्न भएको छ । ६५ प्रतिशत काम बाँकी छ । यो नियमित गर्दा अबको एक बर्ष भित्र पुरा गर्न सकिन्छ ।'
अबको दुई महिनापछि धावन मार्गमा रोडी बिछ्याएपछि जाहाज बस्न सक्छ तर नियमित उडानका लागि पूर्णरुपमा तयार गर्न एक वर्ष समय लाग्छ । उनले भने, 'अहिले निर्माणको काम तीव्र रुपमा बनाइरहेका छौँ । लकडाउनले केही समय काम प्रभावित भयो । अब मदजुर पनि थप गरेर कामलाई निरन्तरता दिन्छौँ ।'
उनका अनुसार जेठको १५ गतेबाट क्रसरको काम पनि सुरु गर्ने तयारी गरिएको छ। अबको ६ महिनाभित्र पिचको काम सक्ने र एक वर्षभित्र सबै कामहरु सकाइनेछ । विमानस्थलको काम धमाधम हुन थालेपछि वर्षौदेखि जहाज चढ्ने सपना बोकेका कालिकोटवासी खुसी भएका छन् ।