बारामा चार प्रहरीमा कोरोना संक्रमण, संक्रमित प्रहरीको संख्या पाँच पुग्यो
बारा : जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत चार प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय प्रयोगशाला काठमाडौंमा भएको स्वाब परीक्षणका क्रममा चार प्रहरीमा कोरोना संक्रमण देखिएको हो ।
एकैदिन थपिएका चारसहित बारामा संक्रमित हुने प्रहरीको संख्या ५ पुगेको छ । जेठ ७ गते एक प्रहरी जवानमा कोरोना भेटिएको बारामा आइतबार मात्रै चार प्रहरीमा संक्रमण देखिएको हो । बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले एकैदिनमा चार प्रहरीमा कोरोना देखिएको पुष्टि गरे ।
आइतबार एक प्रहरीमा कोरोना देखिएको जानकारी दिएका प्रजिअले केही घण्टापछि थप तीन गरी चार जनामा संक्रमण भएको बताएका हुन् । सर्लाही घर भएका ४९ वर्षीय प्रहरी नायव निरीक्षक, पर्सा घर भएका ३४ वर्षीय प्रहरी हवल्दार, ३२ वर्षीय प्रहरी जवान र रौतहट घर भएका ३४ वर्षीय प्रहरी जवानमा संक्रमण देखिएको हो ।
बाराका प्रहरी प्रवक्ता डिएसपी गौतम मिश्रले चार प्रहरीमा संक्रमण देखिएको र संक्रमित प्रहरीलाई कलैया अस्पतालमा लैजाने तयारी गरिएको बताए ।
यसअघि जेठ ७ गते रौतहट घर भइ जिल्ला प्रहरी कार्यालयको मुद्दा फाँटमा कार्यरत प्रहरी जवानमा कोरोना संक्रमण देखिएको थियो । रौतहट घर भएका प्रहरी जवानमा कोरोमा देखिएपछि कार्यालयमा कार्यरत २५ प्रहरीसहित ४९ जनाको स्वाब परीक्षणका लागि राष्ट्रिय प्रयोगशाला काठमाडौंमा पठाइएको थियो । स्वाब पठाइएका मध्ये चार प्रहरीमा कोरोना पुष्टि भएको हो ।
योसँगै बारामा कोरोना संक्रमण देखिनेको संख्या १६ पुगेको छ । यसअघि सिम्रौनगढ नगरपालिकामा ७, करैयामाई गाउपालिकामा २, जीतपुरसिमरा उपमहानगरपालिकामा १, विश्रामपुर गाउँपालिकामा १ र एक प्रहरी जवानमा कोरोना देखिएको थियो ।
संक्रमितमध्ये जीतपुरसिमरा उपमहानगरपालिका एक र सिम्रौनगढका एक गरी दुई जना उपचारपछि शनिबार घर फर्किएका छ्न् । संक्रमण देखिएकालाई कलैया अस्पतालमा र वीरगन्ज अस्पतालको आइशोलेसनमा राखिएको छ ।