हेटौंडामा कोरोना त्रासः स्वाबको चाप, किटको अभाव

हेटौंडामा कोरोना त्रासः स्वाबको चाप, किटको अभाव

हेटौंडा : बागमती प्रदेशको राजधानी हेटौंडामा प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले सञ्चालनमा ल्याएको किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र प्रयोगशालामा पीसीआर किट अभाव भएको छ।

किट अभावका कारण परीक्षण रोकिँदा हेटौंडाको आइसोलेसनमा सेवाग्राहीको चाप बढेको हेटौंडास्थित आइसोलेसन वार्डका इञ्चार्ज भोला चौलागाईंले जानकारी दिए। हेटौंडास्थित आइसोलेसनमा आइतबार ३५ जना बसिरहेको र ठाउँ अभावले कयौंलाई फिर्ता पठाइएको छ। ‘अहिले आइसोलेसनमा ३५ जना हुनुहुन्छ, सबैलाई राखेको भए ६०/७० जना हुन्थ्यो, हामीले धान्न सक्ने अवस्था थिएन’, इञ्चार्ज चौलागाईंले भने।

‘किट अभावका कारण २/३ दिनदेखि रिपोर्ट आएन, त्यसैले आइसोलेसनमा चाप बढ्यो’, इञ्चार्ज चौलागाईंले भने। उनका अनुसार भर्ना भएका बिरामीको लागि आइतबार दिउँसो कलेक्सन किट उपलब्ध भएपनि जाँच गर्न प्रयोग गर्ने केमिकल आइतबार अपरान्हसम्म आएको छैन। ‘२० जनाको लागि कलेक्सन किट प्राप्त भयो, जाँच गर्ने किट हिजोदेखि नै छैन। साँझसम्म आउँछ भन्ने जानकारी छ, त्यसमा पनि ढुक्क हुने अवस्था छैन’, इञ्चार्ज चौलागाईं भन्छन्, ‘बिरामीलाई भन्दा अरुलाई प्राथमिकता दिइयो, त्यसले पनि समस्या आएको हो।’

शंकास्पदलाई भन्दा अरुलाई प्राथमिकता दिइएको कारण आइसोलेसनमा चाप बढ्न पुगेको उनको भनाइ छ। हेटौंडामा संकलन गरिएको ९३ वटा स्वाब नमूना यहाँ किट अभावका कारण परीक्षणका लागि भरतपुर अस्पतालको प्रयोगशालामा पठाइएको थियो। 

शुक्रबार यहाँस्थित ५४ वर्षीया एक महिलामा कोरोना संक्रमण पुष्टि भएपछि शंकास्पद र सम्पर्कमा आएका व्यक्तिको परीक्षण गराउन भीड लागेको छ। प्रदेशका मन्त्री, सांसद, हेटौंडा अस्पतालका स्वास्थ्यकर्मीको लगायतको स्वाब शनिबार संकलन गरिएको थियो। तर, सेवाग्राहीको चाप बढिरहँदा करिब एक साताअघि हेटौंडा प्रयोगशालामा प्राप्त चार सयवटा किट शनिबार सकिएपछि आइतबारदेखि परीक्षण रोकिएको हो। 

संक्रमित महिलाको उपचारमा संलग्न हेटौंडा अस्पतालका डाक्टर तथा कर्मचारीको एकैसाथ धेरै संख्यामा स्वाब संकलन गरिएको थियो। साथै, मकवानपुर र प्रदेशका अन्य जिल्लाका साथै प्रदेश २ को बारा, पर्साबाट पनि परीक्षणका लागि नमूना स्वाब हेटौंडा आएको छ। किट सकिएपछि हेटौंडामा संकलन भएका करिब दुई सय जनाको स्वाब परीक्षण हुन नसकेको मेडिकल ल्याव एशोसियसन नेपाल मकवानपुरका अध्यक्ष उत्सव चौलागाईंले बताए। मकवानपुरसँगै प्रदेशका अन्य जिल्ला र प्रदेश २ अन्तर्गतको बारा, पर्सा जिल्लाबाट संकलित स्वाब पनि परीक्षणको पालो पर्खिरहेको अध्यक्ष चौलागाईंले बताए। प्रयोगशाला स्रोतका अनुसार किट नहुँदा आइतबार परीक्षण पूर्ण रुपमा प्रभावित भएको छ। प्राप्त जानकारी अनुसार मन्त्रालयले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालासँग एक हजार बढी किट माग गरेको छ।

बागमती प्रदेश सामाजिक विकास मन्त्रालयका डाक्टर पुरुषोत्तम सेढाईले भने किट अभाव रहेको भन्ने कुरा अस्वीकार गरे। ‘अहिले एक्कासी स्वाब कलेक्सन बढी भएको छ, त्यसैले परीक्षणमा ढिलाई भएको हो। हामी काम गरिरहेका छौँ’, डाक्टर सेढाईले भने। 

अहिले केही काम भइरहेको र आइतबार बेलुकासम्म बाँकी किट आउनेमा उनले आश्वस्त पारे। पर्याप्त कर्मचारी नहुँदा काम समयमा हुने नसकेको पनि उनले बताए। ‘केही कर्मचारी साथी क्वारेन्टाइनमा गए। यसै पनि हामी कम नै छौँ, तैपनि मेहनत गरिरहेका छौँ, थाकेका छैनौँ’, उनले भने। 
ल्याबमा हाल निर्देशकबाहेक ३ जना कर्मचारी छन्। २४ सै घण्टा ल्याब चलाउने हो भने कम्तीमा पनि ५, ६ जना प्राविधिक कर्मचारीको व्यवस्था गरिनुपर्ने त्यहाँका कर्मचारी बताउँछन्। ‘रिपोर्ट ढिला आयो भन्छन्, ‘हामीसँग न आवश्यक प्रविधि छ न त पर्याप्त कर्मचारी’, अध्यक्ष चौलागाईं भन्छन्, ‘राम्रो रिजल्टको लागि यसमा प्रदेश सरकारको ध्यान जान जरुरी छ।’

यहाँको आवश्यकता हेर्दा २४सै घण्टा ल्याब चलाउनुपर्ने देखिन्छ। त्यसका लागि परीक्षणमा संलग्न कर्मचारीलाई पीपीइ र आराम गर्ने समय र सुविधा उपलब्ध गराउनुपर्नेमा अध्यक्ष चौलागाईंले जोड दिए। 
  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.