गाउँपालिकाका अध्यक्ष कुट्ने नेकपाका नेता धरौटीमा छुटे
कालिकोट : जिल्लाको पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बमलाई कुटपीट गर्ने सत्ताधारी नेकपाका पलाँता नेता धरौटीमा रिहा भएका छन् । जिल्ला अदालत कालिकोटले गाउँपालिका अध्यक्षलाई कुटपीट गरी ज्यान मार्ने उद्योग मुद्धामा पक्राउ परेका नेकपा पलाँता गाउँपालिका अध्यक्ष बिष्णु रोकाया, नेकपा जिल्ला कमिटि सदस्य तथा पलाँता गाउँपालिका १ का वडा अध्यक्ष मानबहादुर भण्डारी सहित चारजनालाई धरौटीमा छोडेको हो ।
गत वैशाख २७ गते पलाँतामा सडक निर्माणको विषयमा विवाद हुँदा दुई पक्षबीच कुटाकुट हुँदा पलाता गाउँपालिकाका अध्यक्ष लक्ष्मणबहादुर बम, उनकी पत्नी गोरीकला बम र भतिज गजेन्द्र बम घाइते भएका थिए । उनीहरुको प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको छ । कुटपीट पछि गाउँपालिका अध्यक्ष लक्ष्मण बमका दाइ लंक बमले जिल्ला प्रहरी कार्यालयमा ज्यान मार्ने उद्योगको मुद्धा दिएका थिए ।
प्रहरीले वैशाख ३१ गते उनीहरुलाई पक्राउ गरेको थियो । उनीहरुलाई आइतबार जिल्ला अदालतले धरौटीमा रिहा गरेको अधिवक्ता हिक्मत विष्टले बताए । जिल्ला अदालतले बिष्णु रोकाया र मानबहादुर भण्डारीलाई जनही १ लाख २५ हजार र अन्य दुईजना स्थानीय युवा नबिन कुण र धनसिंह भण्डारीलाई जनही ७५ हजार धरौटीमा छोडेको हो ।
नेकपा पलाँता गाउँपालिका अध्यक्ष इन्द्र रोकायाले न्यायलयबाट आफूहरुले न्याय पाउने बताए । उनले भने, 'पलाँतामा गाउँपालिका अध्यक्षले नै आफूहरुमाथि आक्रमण गर्न गुण्डा लिएर थिर्पुबाट राडुनेटा गएका हुन् ।'
वडा अध्यक्ष मानबहादुर भण्डारी र आफूले गाउँपालिकाको विकास निर्माण, गाउँपालिका केन्द्रका विषयमा चासो देखाएकाले उनीहरुले नै आक्रमण गरेका हुन् । उनको पत्नीलाई लागेको चोट पनि आफूहरुले हानेर नभएको बताए । उनले गाउँपालिका अध्यक्षकै गुण्डाले हानेको ढुंगा लागेर उनकी पत्नी घाइते भएको दाबी गरे ।
'सडक शिलान्यास कार्यक्रम छ भनेर थाहा पाएर हामी त्यहाँ गएका थियौँ । वडा अध्यक्ष मानबहादुर भण्डारीले भने,'ओदी राफाडाँडा सडक पहिले नै आधा निर्माण गरेको थियो । त्यो सडकमा पुन सडक निर्माण गरौँ भनेर भन्यौँ । उहाँहरुले राडुनेटा हुँदै नयाँ ठाँउमा सडक खन्ने भन्नुभयो । त्यो सडकमा कुनै उपभोक्ता समिति पनि थिएन् । ठेकेदार पनि थिएन् । गाउँपालिका अध्यक्षले आफ्नो निजी डोजर लिएर व्यक्तिगत नाफाका लागि सडक निर्माण गर्ने भन्नुभयो । तिमीहरु को हौं र मैले जे गरे त्यही हुन्छ भनेर भने । त्यस पछि धकेलपकल भयो । उनकै पक्षले झगडा गरेका हुन् । उनीहरुबाटै आफूहरुले बढी पीटाइ खाएका हौँ । उल्टै मुद्दा हालेर हामीलाई फसाए। '
यता गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बमले भने जनताको मागअनुसार आफूले उदारो सडक खन्नका लागि डोजर लिएर राडुनेटा गएका बेला नबोलाइका मान्छेहरु आएर आफूहरुमाथि आक्रमण गरेका हुन् ।
उनले भने, 'त्यो आक्रमण सुनियोजित हो । सडकको बिबाद नै थिएन । बाहाना बनाएर वडा अध्यक्ष मानबहादुर भण्डारीले हातपात गर्न सुरु गरे । पार्टीले छानबिन समिति गठन गरेको छ । त्यसले वास्तविकता ल्याउनेमा आफू विश्वस्त छु।'
पलाँतामा नेकपाकै गाउँपालिका अध्यक्ष र पार्टीका नेताको विवादले चार्को रुप लिएको छ । गाउँमा दुवै पक्षकाले दैनिक रुपमा विवाद गरिरहेको स्थानीय धनकर्ण विश्वकर्माले बताए । पलाँता १ देखी ७ सम्मका वडा कार्यालयमा ताला लागेको छ । नेकपाले पलाँता कुटपीटको घटनाको वास्तविक कुरा बाहिर ल्याउन छानबिन समिति गठन गरेको छ ।