मुम्बईबाट सप्तरी आएका दुई जनामा कोरोना संक्रमण
राजविराज : भारतबाट आएका सप्तरीका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सप्तरीको डाकनेश्वरी नगरपालिका–५ पातोस्थित कन्तचन्द्र माविको क्वारेन्टाइनमा बसेका डाकनेश्वरी नगरपालिका–४ का २२ वर्षीय र वडा नम्बर ८ का ३४ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको हो।
संक्रमित दुवै जना भारतको मुम्बईबाट जेठ ५ गते आएको डाकनेश्वरी नगरपालिकाका स्वास्थ्य सहसंयोजक सन्तोष साहले बताए। भारतबाट आए लगत्तै उनीहरुलाई पातोस्थित क्वारेन्टाइनमा राखिएको थियो। क्वारेन्टाइनमा खटिएका दुई स्वास्थ्यकर्मी र क्वारेन्टाइनमा बसेका १५ जनालाई जेठ ८ गते राजविराज बोलाएर नमूना स्वाव संकलन गरिएकोमा दुई जनामा संक्रमण देखिएको हो।
भारतले रेलसेवा सञ्चालन गरेपछि भारतको फरक–फरक राज्यबाट आएकाहरुको नमूना स्वाब संकलन गरिएको र थप दुई जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले बताए।
स्वास्थ्य सहसंयोजक साहले डाकनेश्वरी नगरपालिकामा एक ठाउँमा मात्र क्वारेन्टाइन रहेकोले ठाउँको अभाव भइरहेको बताए। उनले ५० जनाको क्षमता भएको पातोस्थित क्वारेन्टाइनमा हाल १ सय ६ जना रहेको जानकारी दिए। कोरोना संक्रमण फैलिने डरले विभिन्न टोलमा रहेको विद्यालय भवनहरुमा गाउँलेहरुले क्वारेन्टाइन राख्न नदिएको नगरपालिकाले जनाएको छ।
शनिबार मात्र वडा नम्बर ६ कटैयास्थित विद्यालय निरीक्षण गर्न जाँदा गाउँलेहरुले गालीगलौज गर्दै क्वारेन्टाइन राख्न नदिएपछि टोली फर्किएको थियो। ‘भारतबाट प्रवेश गर्नेहरुको सङ्ख्या बढिरहेको छ तर क्वारेन्टाइनमा राख्ने ठाउँ छैन्’ स्वास्थ्य सहसंयोजक साहले भने–‘मानिस राख्नुपर्यो भनेर फोन आएपछि फोन नै काटनु पर्ने अवस्था छ, राख्ने ठाउँ नै छैन्, मानिसहरु भने भित्रिरहेका छन्।’ पातोस्थित क्वारेन्टाइनमा थप मानिसहरु राख्न नसक्ने बताएपछि शनिबार बाध्य भएर डाकनेश्वरी नगरपालिका–३ तरही हटेलस्थित विद्यालयले स्थानीय पाँच जनालाई राखेको छ।
धेरै मानिस अटाउने ठूला कोठाहरु भएको भवनको अभाव हुँदा भारतबाट दैनिक भित्रिरहेका मानिसहरुलाई व्यवस्थापन गर्न स्थानीय तहलाई कठिनाई हुँदै गएको छ। बलान बिहुल गाउँपालिकाको बेल्ही र रामनगर हुँदै दैनिक दर्जनौ नेपालीहरु भारतबाट प्रवेश गरिरहेको जानकारी दिँदै गाउँपालिका अध्यक्ष दयानन्द गोइतले भने, 'बढदो चापलाई व्यवस्थापन गर्न प्रदेश र संघीय सरकारले आवश्यक पहल र सहयोग नगरे अवस्था भयावह हुन्छ।'
सोमबार थप भएका दुई जनासमेत डाकनेश्वरी नगरपालिकाका तीनजना र बलान बिहुल गाउँपालिकाका एक जना गरी सप्तरीमा संक्रमित हुनेको सङ्ख्या चार पुगेको छ। पहिलो पटक वैशाख २९ गते डाकनेश्वरी नगरपालिका–३ का १८ वर्षीय युवकमा संक्रमण पुष्टि भएको थियो। उनीसहित १३ जना मजदुर लकडाउनका बेला चितवनबाट वैशाख ९ गते सप्तरी आएका थिए। त्यसपछि भारतको हरियाणाबाट आएका बलान बिहुल गाउँपालिका–४ का ३५ वर्षीय युवकको जेठ ९ गते कोरोना संक्रमण पुष्टि भएको थियो। श्रीमती र भाईसहित जेठ १ गते आएका उनी चोरबाटो हुँदै घरमा लुकिछिपी बसेकोमा गाउँलेहरुले खबर गरेपछि प्रहरीले जेठ ३ गते बलान बिहुल गाउँपालिका–४ बेल्हीस्थित क्वारेन्टाइनमा राखेको थियो।
संक्रमित व्यक्तिहरुलाई सोमबार राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको आइसोलेसनमा ल्याइएको र स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालका डा. रणजितकुमार झाले जानकारी दिए। स्वास्थ्य मन्त्रालयले बिहान १०:४५ बजे सार्वजनिक गरेको विज्ञप्तिअनुसार कोभिड–१९ नयाँ पुष्टि भएको ७२ जना छन्। योसँगै कोरोना संक्रमित पुष्टि भएको जम्मा सङ्ख्या ६ सय ७५ पुगेको छ।