१६ घण्टापछि जंगलमा भेटिए क्वारेन्टाइनबाट भागेका व्यक्ति
प्यूठान : क्वारेन्टाइनबाटै भागेका झिमरुक गाउँपालिका-७ स्थित तुषाराका ४५ वर्षीय एक व्यक्ति १६ घण्टापछि भेटिएका छन्। तुषारास्थित रातामाटा जंगलमा उनलाई गाउँलेले खोजीको क्रममा भेटाएका हुन्।
सत्य मावी तुषाराको क्वारेन्टाइनमा बसेका उनी आइतबार दिउँसो साढे तीन बजे भागेका वडा अध्यक्ष गोपाल गिरीले जानकारी दिए। दुई दिन अघि भारतबाट घर फर्किएका उनलाई कोरोनाको त्रासमा क्वारेन्टाइनमा राखिएको थियो।
सोमबार इलाका प्रहरी कार्यालय मच्छिबाट प्रहरीलाई बोलाएर खोजी गरिएको थियो। झिमरुक गाउँपालिकामा भारतमा गएकाहरु फर्किने कार्य जारी छ। गाउँ फर्किनेको लर्को लाग्न थालेपछि स्थानीय सरकारलाई हम्मेहम्मे भइरहेको छ।