सुगौली सन्धि नै मुख्य प्रमाण’
काठमाडौं : सीमा तथा नाप नक्सासम्बन्धी विज्ञका अनुसार नेपाल-भारत सीमाको ठोस प्रमाण नै सुगौली सन्धि हो। सुगौली सन्धिको बेला नक्सा नै महत्वपूर्ण र अकाट्य रहेको उनीहरूको तर्क छ।
नापी विभागका पूर्वमहानिर्देशक पुण्यप्रसाद ओलीले सुगौली सन्धि नै प्रमुख प्रमाण रहेको बताए। ‘सुगौली सन्धिमा स्पष्ट छ, कालीनदी हाम्रो सीमा नदी हो, कालीको उद्म लिम्पियाधुरा हो’, उनले भने, ‘कुटी, नाबी, गन्जी हाम्रो देशमा पर्छ।’
‘प्रमुख प्रमाण सुगौली सन्धि हो, त्यसबेलाको नक्सा नै नक्सा प्रमाण हो,’ उनले भने, ‘ अरू हामीले बनाएको नक्साको अर्थ हुँदैन, उनीहरूले बनाएको नक्सा पनि मान्य हुँदैन।’
नेपाल र तत्कालीन इस्ट इन्डिया कम्पनीबीच ४ मार्च १८१६ मा सुगौली सन्धि भएको थियो।
सुगौली सन्धिको धारा ५ मा ‘नेपालका राजा स्वयंका लागि निजका उत्तराधिकारी वा वारिसहरूका लागि कालीनदीको पश्चिममा पर्ने देशसितको सम्बन्ध र सम्पूर्ण दाबी परित्याग गरिबक्सन्छ र ती देश वा तिनका बासिन्दासित कहिल्यै कुनै चासो राखिबक्सने छैन,’ उल्लेख छ।
८ डिसेम्बर १८१६ मा पूरक सन्धि भएको थियो। पूरक सन्धिले कोसी नदीदेखि राप्ती नदीसम्मको तराई भूभाग नेपालले प्राप्त गरेको थियो। भारतमा १८५० ताका भएको स्वतन्त्रता संग्राम दबाउन इस्ट इन्डिया कम्पनीलाई सहयोग गरेबापत तत्कालीन शासक जंगबहादुर राणाले उपहारस्वरूप बाँके, बर्दिया, कैलाली र कञ्चनपुर प्राप्त गर्ने गरी गरिएको सीमासम्बन्धी पूरक सन्धि ( १५ नोभेम्बर १८६०) भएको थियो। त्यस्तै, ७ जनवरी १८७५ मा दाङको डँुडुवा श्रृंखलाको सिमाना निश्चिततासम्बन्धी सन्धिबाटै भारतसँगको हालको सीमा निर्धारण भएको हो। यी सबै सन्धि सुगौली सन्धिको आधारमा भएका पूरक सन्धि हुन्।
उनले सुगौली सन्धि हुँदाको नक्सा भने खोज्नुपर्ने बताए। ‘नेपालले बनाएका नक्सा भारतले पनि पेस गर्न सक्छ, हामीले उसले बनाएका नक्सा पनि देखाउन सक्छौं,’ उनले भने, ‘त्यसकारण बीच-बीचमा प्रकाशन भएका नक्सा प्रमाणका आधार हुन सक्दैनन्।’
सुगौली सन्धिकै आधारमा सन् १८४५ भएको नेपाल-भारतबीचको स्थिर सीमा सिद्धान्त (फिक्स बाउन्डरी प्रिन्सिपल) अर्को प्रमाणको आधार भएको बताए। यसमा सुगौली सन्धि हुँदा बखतको सीमा नै दुई देशको सीमा हुने त्यो स्थिर सीमा सिद्धान्तमा उल्लेख छ।
नदी धार परिवर्तनले सीमा यताउता भएपछि यो स्थिर सीमा सिद्धान्तको सम्झौता भएको थियो। पुनः सुगौली सन्धिताका बनेको नक्सालाई आधार नक्साका रूपमा मानेर दुवै देशलाई मान्य हुने गरी सीमाको नक्सांकन तथा सीमास्तम्भ गाड्न तत्कालीन श्री ५ को सरकार मन्त्रिपरिषद्को ०४५ मंसिर २२ को निर्णयअनुसार स्थिर सीमा सिद्धान्त अपनाउने सहमति भएको थियो।
सुगौली सन्धिपछिको भोगचलनको विषय पनि प्रमाणको आधार हुने उनको तर्क छ। त्यसबेला कुटी, नाबी, गुन्जीका बासिन्दाले गरेको तिरोतिरान, सनद, लालमोहोर, इस्तियार नेपालको पक्षमा छन्। २००९ देखि २०११ साल र २०१८ सालको जनगणना भोगचलनसँग सम्बन्धित विषय हुन्।
नदीविद् डा. जगत्प्रसाद भुसाल नदी विज्ञानका अनुसार लिम्पियाधुरा कालीनदीको उद्मस्थल भएको स्वतः प्रमाणित हुने बताउँछन्। ‘काली मूल नदी भएको हो, कुन शाखा, कुन मूल नदी हो छुट्ट्याउने तथ्यहरू बहाव, लम्बाइ, जलाधार क्षेत्र र नदी क्रमांक मुख्य हुन्’, उनले भने, ‘नदी विज्ञानको यी तथ्यले लिम्पियाधुराबाटै आउने कालीनदी भएको स्पष्टै छ।’