जनकपुरबाट भागेका कोरोना संक्रमितलाई जिल्लाकै आइसोलेसनमा राखियो
मलंगवा : जनकपुरस्थित प्रादेशिक कोरोना विशेष अस्पतालको आइसोलेसनबाट भागेका सर्लाहीका ४५ वर्षीय पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकालाई जनकपुरमा लिन नमानेपछि जिल्लामै राखिएको छ ।
आइतबार बिहान आइसोलेसनबाट भागेका उनी आफ्नो घर हरिपूर्वा नगरपालिका ३ धनकौलमा सोमबार बेलुका आइपुगेका थिए । घर आएपछि प्रहरीले उनलाई पक्राउ गरि फेरी जनकपुर लगेका थिए । तर, प्रादेशिक कोरोना विशेष अस्पतालले लिन नमानेपछि उनलाई सर्लाही सदरमुकाम मलंगवामा २ सन्त अल्पमाई सत्यनारायण यादव नर्सिङ्ग कलेजमा बनाइएको कोरोना विशेष आइसोलेसन वार्डमा राखिएको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जानकारी दिएका छन् ।
दुई दिन लगाएर उनी पैदल घर आएका थिए । घर आएको थाहा पाएपछि सुरक्षाकर्मीले उनलाई एम्बुलेन्समा हालेर जनकपुर लगेको थियो । मानसिक सन्तुलन ठिक नभएकाले उनलाई एम्बुलेन्समा चढाउन पनि समस्या भएको थियो । निकै बेर ललाईफकाई गरेपछि उनी एम्बुलेन्समा चढेका थिए ।
तर, जनकपुरमा लिन नमानेपछि उनलाई सोमबार रातीनै सर्लाही ल्याइ आइसोलेसन वार्डमा राखेको प्रजिअ जिसीले बताए । 'मानसिक सन्तुलन ठिक नभएकाले उनलाई छुट्टै कोठमा राखेका छौं, उनले भने,' जनकपुरको आइसोलेसन वार्डका झ्याल फोडेर आइतबार राती फरार भएका थिए ।'