लकडाउनमा फोहोर बोक्ने गाडी र ट्याक्टरमा मान्छे ओसार्दै स्थानीय तह
दैलेख : कोरोना संक्रमण रोकथामका लागि सिमानाका बन्द भएका बेला भारत सरकारले रेल र बस सेवा सूचारु गरेसँगै नेपाल फर्किनेको संख्या ह्वात्तै बढेको छ । सोमबारसम्म दैलेखका विभिन्न स्थानीय तहमा गरी ५ हजार एक सय जना भित्रिएका छन् । यो क्रम बढ्ने क्रम जारी छ । जिल्ला प्रशासन कार्यालय दैलेखले भारतबाट दैलेख आउनेहरुको संख्या ४२ हजार पुग्ने प्रक्षेपण गरेको छ ।
भारतबाट जमुनाहा नाका हुँदै आउने नागरिकलाई नेपालगंजबाट उद्धार गरी ल्याउने गरिएको छ । सुर्खेत दैलेखको सीमा क्षेत्र रानीमत्ता, माथिल्लो डुङ्गेश्वर तथा दैलेख सदरमुकामसम्म ल्याइएका नागरिकलाई स्थानीय तहले फोहोर बोक्ने गाडी, टिपर, ट्याक्टरमा ओसारिरहेका छन् । टिपर, ट्याक्टरको ढालामा ३० देखि ४० जनासम्म नागरिक चढाएको पाइएको छ ।
यसले थप असुरक्षित बनाएको टिप्पणी भएको छ । दैलेख सदरमुकाम लगायतका स्थानबाट सम्बन्धित पालिकामा पठाउन ट्याक्टर, टिपर प्रयोग गरिएको स्थानीय तहहरु बताउँछन् ।
लामो तथा छोटो दूरीका सवारी साधनले सिट क्षमताभन्दा बढी यात्रु बोक्न नपाउने भएपनि भारतबाट आउने नागरिकहरको उद्धारको नाममा नियम उल्लंघन गरेको पाइएको छ ।
ट्याक्टरको ढालामा यात्रु ओसार्दै।
बसको छतमा यात्रु राखेर सवारी सञ्चालन पाइँदैन् । तर ट्राफिक नियम उल्लंघन गर्दै छतभरी यात्रु राख्ने गरेको पाइएको छ । यसले दुर्घटनाको जोखिम बढाएको स्थानीयबासको भनाइ छ ।
जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक उपेन्द्रप्रसाद आचार्यले व्यवस्थापनमै कठिनाइ भएको बताए । 'दैनिक एक हजार देखि १५ सय नागरिक आउनुहुन्छ,' आचार्यले भने, 'क्षमताभन्दा बढी यात्रु नबोक्न र छतमा यात्रु नचढाउन आग्रह गरिरहेका छौं।'
यस्तै प्रदेश सरकार, स्थानीय तह र सांसदको सहजिकरणमै उद्धारका लागि नेपालगंज पठाइएका गाडीले चर्को भाडा असुली गरेको पाइएको छ । नेपालगंजबाट दैलेखसम्म १५ सय भाडा तिरेर आएको स्थानीय सुरेन्द्र राना बताउँछन् । उनीसँगै आएका भुवन रेग्मी, शुसिल रेग्मीले समेत १५ सय रुपैयाँ भाडा तिरेका बताएका छन् । जबकी नेपालगंजबाट दैलेखसम्मको भाडा ७ सय रुपैयाँ हो ।