मृतकसहित चार जनालाई कोरोना संक्रमण पुष्टि, गाउँपालिका अध्यक्ष पनि संक्रमित
गुल्मी : कोरोनाले मृत्यु भएका मदाने गाउँपालिका-६ का स्थानीय शिक्षकसहित गुल्मीमा हालसम्म चार जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। मदोन गाउँपालिकामा दुई र धुर्कोट गाउँपालिकामा दुई जनालाई कोरोना पुष्टि भएको हो।
मदानेमा संक्रमित हुने अर्का व्यक्ति स्थानीय एक बैंकमा कार्यरत दाङका हुन्। उनी मृतक शिक्षकको घरमा कोठा भाडा लिएर बस्दै आएका थिए। उनको अहिले तम्घासस्थित कोरोना अस्पतालमा उपचार भइरहेको छ। सोमबार राती प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवाले निकालेको रिपोर्ट अनुसार धुर्कोट गाउँपालिका अध्यक्षलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ। उनीसहित भारतबाट आएर क्वारेन्टाइनमा बसेका धुर्कोट गाउँपालिका-४ जैसीथोकका ३७ वर्षीय व्यक्तिलाई पनि पोजिटिभ देखिएको छ। दुवैको अवस्था सामान्य रहेको स्वास्थ्य कार्यालय गुल्मीका प्रमुख भवानीप्रसाद शर्माले जानकारी दिए। दुई संक्रमित मध्ये गाउँपालिका अध्यक्ष गाउँपालिकाकै होम क्वारेन्टाइनमा बस्ने र अर्का संक्रमितलाई तम्घासमा लिएर आइसोलेसनमा राखिने तयारी भइरहेको शर्माले जानकारी दिए।