अव्यवस्थित व्यवस्थापनले जोखिम बढ्यो

अव्यवस्थित व्यवस्थापनले जोखिम बढ्यो

कालिकोट :  कर्णाली प्रदेशमा कोरोना संक्रमित फेला नपरुन्जेलसम्म कालिकोटमा कोरोनाको त्रास निकै कम थियो । मंगलबारसम्म दैलेखमा ८ र सुर्खेतमा १५ जना गरी कर्णाली प्रदेशमै २३ जना कोरोना संक्रमित फेलापरेपछि कालिकोटमा पनि कोरोनाको जोखिम निकै बढेको छ । यसले गाँउ गाँउमा त्रास पनि बढाएको छ । पछिल्लो समय भारतबाट दैनिक सय जनाका दरले जिल्ला भित्रिने नागरिकबाट पनि कोरोनाको जोखिम बढेको हो । 
     

शुक्रबारदेखि मंगलबारसम्म मात्र जिल्लामा १ हजार ३ सय नागरिक भारतबाट फर्किएका छन् । प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र पौडेलका अनुसार ९ सय जना जिल्लामा पुगेर क्वारेन्टाइनमा राखिसकिएको छ भने ४ सय जना स्थानीय नागरिक मंगलबार मात्र जिल्लामा पुगेका छन् । उनीहरुलाई क्वारेन्टाइनमा राख्ने व्यवस्थापन गरिएको छ । उनले भने, 'स्थानीय तहले दिएको तथ्यांकअनुसार जिल्लाबाट ९ हजार ५ सय बढी नागरिक भारतमा रोजगारीका लागि गएका छन् । उनीहरु सबै फर्किए भने सबैलाई क्वारेन्टाइनको व्यवस्थापन गर्न समस्या पर्ने अवस्था छ ।'

जिल्लामा तत्काल २५ प्रतिशत नागरिक आउने अनुमान गरिएको भए पनि आउने क्रमलाई हेर्दा निकै बढी छ । यही अनुसार मानिसहरु आए भने ६० प्रतिशत भन बढी मानिसहरु आउन सक्छन् । उनीहरुलाई क्वारेन्टाइनमा राख्न धौ धौ हुने अवस्था छ । 
     

जिल्लाका ९ वटै स्थानीय तहलाई कम्तीमा तीन सय जनाभन्दा बढी मानिसलाई राख्न सक्ने गरी क्वारेन्टाइनको व्यवस्थापन गर्न समन्वय गरिएको छ । यसलाई पनि अब ८ सय जनासम्म राख्न सकिने क्वारेन्टाइन निर्माण गर्न पर्ने अवस्था आएको छ । अहिलेसम्म जिल्लामा हरेक स्थानीय तहले तीन सय जनाभन्दा बढीलाई राख्न सक्ने गरी क्वारेन्टाइन बनाउन सकेका छैनन् । यसरी भइरहेको भद्रगोल व्यवस्थापनले कोरोनाको जोखिम बढ्दै गएको छ । जिल्लाका अधिकांश स्थानीय तहमा बनाइएका क्वारेन्टाइन न्यूनतम मापदण्डका पनि छैनन् । दिनानुदिन भारतबाट नागरिक फर्किने क्रम बढेसँगै जिल्लामा कोरोना संक्रमणको जोखिम पनि उत्तिकै बढिरहेको छ । साविकको कर्णालीका ५ जिल्लामध्ये कालिकोट गेट भएकाले पनि जोखिम बढी छ । 
      
कालिकोटका नागरिकको रोजगारीको प्रमुख गन्तव्य भारत भएकाले उनीहरु फर्कने क्रम बढेको छ । तर स्वदेश फर्कनेको व्यवस्थापनमा उचित ध्यान नदिँदा संक्रमणको जोखिम पनि बढिरहेको छ । दिन प्रति दिन मानिसको आगमन हेर्दा नगरपालिकाले व्यवस्थापन गर्न नसक्ने अवस्था आएको तिलागुफा नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष टिकाराम न्यौपानेले बताए । उनले भने, 'जिल्ला स्तरीय डिसीएमसीको बैठकले पलाँताका नागरिक तिलागुफामा क्वारेन्टाइनमा राख्ने गरी निर्णय गर्दा थप समस्या छ । पाएक पर्ने स्थानीय तहमा जिल्लाबाट धमाधम भारतबाट आएका नागरिक भरिएका गाडीहरु पठाउन थालेका छन् । व्यवस्थापन पक्ष निकै कमजोर छ । यसले नागरिकलाई हैरानी र कोरोना संक्रमणको जोखिम पनि बढी छ ।'  
   
स्वास्थ्य सेवा कार्यालय कालिकोटका जनस्वास्थ्य अधिकृत कटकबहादुर महतले भारतबाट फर्किएका सबै मानिसहरुको स्वाब संकलन गर्नका लागि भिटिएम अभाव रहेको बताए । उनले भने, 'हामीले भारतबाट फर्किएका मानिसलाई क्वारेन्टाइनमा राखेको तीन दिनमा पहिलो चरण र १३ दिनमा दोस्रो चरणको स्वाब संकलन गरी परीक्षण गर्छौं । तर हामीसँग जिल्लामा ९ हजार नागरिक भित्रिने अनुमानका आधारमा १८ हजारभन्दा बढी भिटिएम आवश्यक पर्छ । अहिले नै हामीसँग भिटिएम अभाव छ ।'

उनका अनुसार भारतबाट आएका प्रायः नागरिक गाउँबासी भएका कारण सहरभन्दा गाउँमा जोखिम बढ्न थालेको छ । बजार क्षेत्रमा सुरक्षा निकायले लकडाउन कार्यान्वयन गराए पनि गाउँमा सुरक्षा जनशक्ति कम छ । भारतबाट आउने मानिसको सम्बन्ध सहरभन्दा गाउँमा बढी देखिन्छ । जसका कारण गाउँमा बढी खतरा रहेको स्थानीय बताउँछन् । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.