कर्णाली सरकारले माग्यो सेना परिचालनको स्वीकृति
सुर्खेतः कर्णाली प्रदेश सरकारले नेपाली सेना परिचालनका लागि स्वीकृति मागेको छ । प्रदेश सरकारले कोरोना रोकथाम र महामारी नियन्त्रणका लागि सेना परिचालन गर्ने स्वीकृति दिन संघीय सरकारसँग माग गरेको हो । प्रदेश मन्त्रीपरिषद्को बैठकले प्रदेशमा सेना परिचालनका लागि नेपाल सरकारसँग स्वीकृतिका लागि अनुरोध गर्ने निर्णय गरेको हो ।
कोरोना महामारीका कारण रोजगारी गुमाएपछि भारतबाट ठूलो संख्यामा कर्णालीबासी भित्रिन थालेका छन् । उनीहरुसँगै कोरोना संक्रमण पनि भित्रिन थालेको छ । प्रदेशमा भारतबाट भित्रिनेको संख्या बढेको र कोरोना संक्रमणको महामारी झन् फैलिन थालेको भन्दै प्रदेश सरकारले सेना परिचालन गर्नुपर्ने अवस्था आएको जनाएको छ । नेपाल प्रहरी र शसस्त्र प्रहरी अन्य नियमित सुरक्षामा खटिनुपर्ने भएकाले कोरोना महामारीबाट प्रभावित र संक्रमित नागरिकको उद्दार तथा क्वारेन्टाइन व्यवस्थापनमा सेना परिचालन आवश्यक भएको मन्त्रीपरिषद्ले निस्कर्ष निकालेको हो ।
सोमबार सम्पन्न मन्त्रीपरिषद्को बैठकले गरेको निर्णय बुधबार सार्वजनिक गर्दै प्रदेश सरकारका प्रवक्तासमेत रहेकी भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले यस्तो जानकारी दिएकी हुन् । उनले प्रदेशमा संक्रमणले महामारीको रुप लिने अवस्था सिर्जना हुन लागेको भन्दै कोरोना नियन्त्रणमा सेना परिचालन आवश्यक भएको बताइन् । यही कार्यका लागि सेना परिचालनको स्वीकृति दिन संघीय सरकारलाई अनुरोध गरिएको उनको भनाइ छ । उनले भनिन्,‘भारतबाट भित्रिनेको संख्या थेग्न सकिने अवस्था छैन, उनीहरुसँगै संक्रमण पनि भित्रिन थालेको छ । महामारी बढ्दै जाँदा समस्या भयावह हुने भएकाले यसको व्यवस्थापनका लागि हामीले सेना परिचालनका लागि नेपाल सरकारसँग स्वीकृति माग्ने निर्णय गरेका हौं ।’
सेना परिचालन गर्ने अनुमति पाएमा प्रदेशमा संक्रमितको उद्दार र भारतबाट भित्रिनेहरुका लागि क्वारेन्टाइनको व्यवस्थापनमा सहज हुने मन्त्री केसीको भनाइ छ । नेपाल प्रहरी र शसस्त्र प्रहरी अन्य सुरक्षामा खटिनुपर्ने भएकाले कोरोना रोकथाममा प्रहरीले मात्र पर्याप्त नहुने निस्कर्ष प्रदेश सरकारको छ । कर्णालीमा पछिल्लो समय भारतबाट भित्रिनेहरुको संख्या बढेसँगै उनीहरुमा कारोना देखिन थालेको छ । बुधवार दिउँसोसम्म कर्णालीमा २३ जना संक्रमित पुष्टि भएका छन् । यस्तै क्वारेन्टाइन अभावमा भारतबाट भित्रिएकाहरुको व्यवस्थापन भद्रगोल भएको छ । चिकित्सकले पनि महामारी फैलिन नदिन सेना परिचालन गरेर क्वारेन्टाइनको व्यवस्थापन गर्नुपर्ने सुझाव दिएका छन् ।
यस्तै प्रदेश सरकारले यो वर्षका लागि दिइने विभिन्न सार्वजनिक विदाहरु पनि सार्वजनिक गरेको छ । मन्त्रीपरिषद्को बैठकले विभिन्न सात वटा पर्व र दिवसमा सार्वजनिक विदा दिने निर्णय गरेको हो । मन्त्री केसीका अनुसार असार १५ गते प्रदेशका ९ जिल्ला र चैत १२ गते जुम्मामा धान दिवसको विदा दिने निर्णय गरेको छ । यस्तै साउन १ गते साउने संक्रान्ति र देउडा पर्व, भदौ ४ गते प्रदेश स्थापना दिवस, माघ १ गते माघे संक्रान्ति, चैते दशैं र फोत्तोलो ल्होसारको विदा दिने मन्त्रीपरिषद्ले निर्णय गरेको छ । असोज कृष्ण त्रयोदशीमा चन्दननाथको लिंगो बोक्ने मेलामा पनि जुम्लामा मात्र सार्वजनिक विदा दिने निर्णय प्रदेश सरकारले गरेको मन्त्री केसीले जानकारी दिइन् ।