सप्तरीमा एक प्रहरीसहित १७ जनामा कोरोना संक्रमण
राजविराज : बुधबार सप्तरीका थप दुई जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। जसमा बोदे बर्साइन नगरपालिका र बिष्णुपुर गाउँपालिकाका पुरुष रहेका छन्।
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा बोदे बर्साइनका ४७ वर्षीय र बिष्णुपुरका ३२ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ। स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियालाल यादवले संक्रमित देखिएका दुबै जना सम्बन्धित स्थानीय तहको क्वारेन्टाइनमा रहेको जानकारी दिए।
योसँगै सप्तरीमा संक्रमितको सङ्ख्या १७ पुगेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बुधबार सार्वजनिक गरेको सप्तरीमा ११ जना संक्रमितमा एक प्रहरी रहेको खुलेको छ। इलाका प्रहरी कार्यालय कडरबोनामा कार्यरत २९ वर्षीय असई सुरुङ्गा नगरपालिकास्थित मसिलाल जनता मावि कुशहाको क्वारेन्टाइनमा सुरक्षार्थ खटिएका थिए। भारत तथा बाहिरबाट आएर सप्तरीको क्वारेन्टाइनहरुमा बसेकादेखि बाहेक पहिलोपटक प्रहरीमा संक्रमण देखिएको सप्तरीका एसपी कृष्ण प्रसाई बताए।
संक्रमण पुष्टि भएका ११ जनालाई राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको आइसोलेसनमा राखिएको छ। असईसँगै कार्यरत अन्य चार जनालाई इलाका प्रहरी कार्यालय कडरबोनाले छुट्टै क्वारेन्टाइन गरेर राखेको छ। उनीहरुको स्वाब बुधबार पनि संकलन हुन सकेको छैन्।
असईसँगै मन्त्रालयले बोदे बर्साइन नगरपालिका–५ स्थित चन्द्रा नमुना माविको क्वारेन्टाइनमा बसेका १८ देखि ५६ वर्षका ८ पुरुष र बलान बिहुल गाउँपालिका–४ बेल्हीस्थित राष्ट्रिय प्राथमिक विद्यालयको क्वारेन्टाइनमा बसेकी १७ वर्षीया महिला र २९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ।
नयाँ संक्रमित फेला पर्दै गएपछि परीक्षणको दायरा पनि बढेको भन्दै निमित्त प्रमुख यादवले बुधबार मात्र २ सय ९ जनाको स्वाब धरान पठाइएको बताए। यो समेत गरी परीक्षणको रिपोर्ट आउन बाँकी ४ सय ३६ मध्ये बुधबार ५० जनाको रिपोर्ट आएको र अरु रिपोर्ट आउने क्रममा रहेको उनको भनाइ छ।
राजविराजस्थित अस्पतालमा पीसीआर परीक्षणका लागि नयाँ मेसिन आएको ६ दिनपछि बुधबारबाट जडान कार्य सुरु भएको छ। आइसोलेसनमा बस्नेको संख्या बढेपछि अस्पतालले १६ वेडबाट २४ वेडको आइसोलेशन कक्ष विस्तार गरेको छ।