रुकुम घटना : बेपत्ता खोज्न बिहानैदेखि गोताखोर भेरीमा
जाजरकोट : अन्तरजातीय प्रेमका कारण १० जेठमा पश्चिम रुकुमको चौरजहारी ८ सोतीमा भएको घटनामा हराइरहेका दुई जनाको खोजी गर्न सशस्त्र प्रहरी बलको गोताखोर टोली बिहीबार बिहानैदेखि परिचालन गरिएको छ ।
बेपत्ताहरु भेरी नदीमै डुबेको आशंकामा सशस्त्रप्रहरी गण शमशेरगञ्जबाट तालिम प्राप्त गोताखोरको टोली परिचालन गरिएको छ। सशस्त्रप्रहरी सहायक निरीक्षक रमेश थापाको नेतृत्वमा गोताखोर टोलीले बेपत्ताको खोजी गरिरहेको छ । अक्सिजनसहित अत्यावश्यक उपकरण लिएर आएका गोताखोर गहिरो तलाउ र खोचमा शव अड्किएको हुनसक्ने आशंकामा खोजी गरिरहेको सशस्त्रप्रहरी बल जाजरकोटका प्रमुख यज्ञ बस्नेतले बताए ।
हराएकाको खोजी कार्यमा स्थानीय बासिन्दा, नेपाली सेना ,सशस्त्र प्रहरी र नेपाल प्रहरीका जवान दैनिकजसो संलग्न रहेपनि भेटाउन नसकेपछि गोताखोर बोलाइएको उनले बताए । बेपत्ता नदीमा डुबेको हुनसक्ने आशंकामा सशस्त्रप्रहरी बलको गोताखोर टोली परिचालन गरिएको उनले बताए । गत १० जेठमा भएका घटनामा भेरी नगरपालिका वडा नम्बर ११ का गोविन्द शाही र वडा नम्बर ४ का सन्दीप विक अझै बेपत्ता छन् ।
भेरी नगरपालिका ११ का लोकेन्द्र सुनारको शव घटनास्थल देखि १० किलोमिटर तल कुदु नजिक नदीको खोजमा हात बाँधिएको अवस्थामा बुधबार फेला परेको थियो ।
भेरी नगरपालिका ४ का नवराज विक र गणेश बुढा, चौरजहारीका टीकाराम सुनारको सव यस अघि नै फेला परिसकेको छ । लोकेन्द्रको शवको पोष्र्टमार्टम हुन बाँकी छ भने अन्य तीनजनाको दाहसंस्कार गरिएको छ ।