सप्तरीमा थप चारजनामा कोरोना संक्रमण
राजविराज : सप्तरीको राजविराजमा समेत कोरोना संक्रमित देखिएको छ। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा बिहीबार भएको परीक्षणमा राजविराज नगरपालिका-१ स्थित राजदेवी माविको क्वारेन्टाइनबाट संकलित स्वाबको रिपोर्टमा चार जना पुरुष संक्रमित देखिएका हुन् ।
योसँगै जिल्लामा कोरोना संक्रमितको सङ्ख्या ३३ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बिहीबार दिउँसो मात्र पत्रकार सम्मेलन गरी सप्तरीको नयाँ १४ जना पुरुषमा संक्रमित भएको पुष्टि गरेको थियो ।
मन्त्रालयले बिहीबार नयाँ सार्वजनिक गरेको सप्तरीको १४ जनामा १२ जना बोदे बर्साइनका, १/१ जना खडक र बिष्णुपुर गाउँपालिकाका हुन् । बिहीबार बिष्णुपुर गाउँपालिका, खडक र राजविराज नगरपालिकामा नयाँ संक्रमित फेला परेपछि संक्रमित फेला परेको सप्तरीको स्थानीय तह ६ पुगेका छन् । यसअघि बलान बिहुल गाउँपालिका, डाकनेश्वरी र बोदे बर्साइन नगरपालिकामा संक्रमित फेला परेका थिए।
मन्त्रालयले बिहीबार पुष्टि गरेको १४ जनामध्ये वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट २ जना र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुबाट १२ जनाको रिपोर्ट पोजिटिभ आएको हो ।
सप्तरीका संक्रमित ३३ जनामध्ये २० जना बोदे बर्साइन नगरपालिका पातोस्थित क्वारेन्टाइनमा रहेका थिए । राजविराज नगरपालिकाका ४, डाकनेश्वरी नगरपालिका र बलान बिहुल गाउँपालिकाका ३/३ तथा बिष्णुपुर गाउँपालिका, सुरुङ्गा र खडक नगरपालिकाका १/१ जना रहेका छन् ।
सप्तरीमा संक्रमितको सङ्ख्या बढेसँगै पीसीआर परीक्षणका लागि स्वाब संकलन कार्यले पनि तीब्रता दिइएको छ।बिहीबार राजविराजको ५१, हनुमाननगर कंकालिनीको ३३, शम्भुनाथको १३ र खडक नगरपालिकाको १२ तथा तिलाठी कोइलाडीको २१, छिन्नमस्ताको १५ र बिष्णुपुर गाउँपालिकाको ७ जनाको स्वाब संकलन गरिएको स्वास्थ्य कार्यालय सप्तरीका ल्याब टेक्निसियन विश्वनाथ मण्डलले बताए ।
अहिलेसम्ममा प्रदेश २ का आठै जिल्लामा संक्रमण देखिएको छ । प्रदेश २ मा बिहीबार ७६ जना नयाँ संक्रमित थपिएसँगै कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएकाको सङ्ख्या प्रदेश २ मा सबैभन्दा बढी चार सय १५ पुगेको छ ।
मन्त्रालयले बिहीबार नयाँ सार्वजनिक गरेको सप्तरीको १४ जनासहित धनुषामा २९ जना, महोत्तरीमा १७ जना, सर्लाहीमा ७ जना, सिरहामा ६ जना र रौतहटमा ३ जनाको रिपोर्ट पनि पोजिटिभ आएको छ ।
बिहीबार प्रदेश २ का ७६ सहित नेपालभरी एक सय ५६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण थप पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार योसहित नेपालमा संक्रमितको संख्या एक हजार ४२ पुगेको छ । जसमध्ये पुरुष ९ सय ४० र महिला १ सय २ जना रहेका छन् ।
यो सँगै प्रदेश १ को ८ जिल्लामा १२९ जना, प्रदेश २ का सबै ८ जिल्लामा ४१५ जना, बागमती प्रदेशको १२ जिल्लामा ४४ जना, गण्डकी प्रदेशका ४ जिल्लामा १७ जना, प्रदेश ५ का ९ जिल्लामा ३६९ जना, कर्णाली प्रदेशका ३ जिल्लामा ४७ जना र सुदुर पश्चिम प्रदेशका ७ जिल्लामा २१ जना संक्रमित पुष्टि भएको छ । सोलुखुम्बु, दोल्खा, बझाङ् र दार्चुला जिल्लामा नयाँ संक्रमित फेला परेपछि संक्रमित फेला परेको जिल्ला ५१ पुगेको छ।