डोल्पाका १५० जनाको पीसीआर रिपोर्ट नेगेटिभ
डोल्पा : डोल्पामा पीसीआर परीक्षण गरेका १५० जनाको रिपोट नेगेटिभ आएको छ । जिल्लाको जगदुल्ला गाउँपालिका र मुड्केचुला गाउँपालिकामा परीक्षण गरिएका १५० जनाकै कोरोना रिपोट नेगेटिभ आएको हो ।
जगदुल्ला गाउँपालिकाका एकसय जना र मुड्के्चुला गाउँपालिकाका पचास जनाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले पीसीआर परीक्षणका लागि स्वाब संकलन गरेको थियो ।
प्रतिष्ठानले संकलन गरी जुम्ला लगेको सबैको रिपोट नेगेटिभ आएको जगदुल्ला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशवराज जैशीले जानकारी दिए। जगदुल्ला र मुड्केचुला गाउँपालिकामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जिम्मा पाएको थियो भने अन्य ६ स्थानीय तहमा कर्णाली प्रदेश सुर्खेतमा परीक्षण गरिएको थियो।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जगदुल्ला र मुड्केचुला गाउँपालिकाका विदेश तथा स्वदेशका विभिन्न जिल्लाबाट स्थानीय तहमा आएर क्वारेन्टाइमा बसेका,जनप्रतिनिधि, स्वास्थ्यकर्मी,सुरक्षाकर्मीहरु र सञ्चारकर्मीको कोरोना पीसीआर परीक्षण गरेको प्रतिष्ठानले जानकारी दिएको छ ।
हालसम्म जिल्लामा ५ सयभन्दा बढीको पीसीआर परीक्षण गरिएको र सबैको रिपोट नेगेटिभ आएको जिल्ला प्रशासन कार्यालय डोल्पाले जानकारी दिएको छ ।