कपिलवस्तुमा कोरोना संक्रमितको संख्या बढ्दो
कपिलवस्तु : कपिलवस्तुमा कोरोना संक्रमितको संख्या बढ्दो छ । पछिल्लो पटक जिल्लामा थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै हालसम्म कुल १ सय ३६ जनामा कोरोना संक्रमण देखिएको छ ।
कपिलवस्तु नगरपालिकाको बुद्ध पद्म माविको क्वारेन्टाइन, वडा नं. ९, वडा नं. १० र वडा नं. ११ को क्वारेन्टाइनबाट जेठ १२ गते संकलन गरी भरतपुर अस्पताल चितवनमा परीक्षण गरिएका १ सय ७० नमूना स्वाबमध्ये ४ जनामा कोरोना भाइरस संक्रमण देखिएको र बाँकी १ सय ६६ जनाको कोरोना रिर्पोट नेगेटिभ आएको स्वास्थ्य कार्यालयले जनाएको छ।
हालसम्म जिल्लामा पीसीआर पद्धतिबाट कोरोना संक्रमण परीक्षका लागि ३ हजार ७ सय ९५ जनाको स्वाब संकलन गरिएकोमा १ सय ३६ जनामा कोरोना भाइरस पुष्टि भएको छ ।
२ हजार २ सय ४ जनामा नेगेटिभ रिर्पोट आएको छ।१ हजार ४ सय ६१ जनाको स्वाव परीक्षण रिर्पोट आउन बाँकी रहेको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन कुमार थापाले बताए ।
राप्ती स्वास्थ्य विज्ञान प्रयोगशाला दाङ, प्रदेश जन स्वास्थ्य प्रयोगशाला भैरहवा, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र भरतपुर अस्पतालस्थित प्रयोगशाला चितवन गरी ४ स्थानमा स्वाब संकलन परीक्षण भइरहेको छ ।
स्वाब संकलन भएअनुसार रिर्पोट आउन ढिलाइ भएको फोकल पर्सन थापाले बताए । यसैगरी भारतको गाजियावादबाट घर फर्कदै गर्दा सीमा क्षेत्रमा मृत अवस्थामा रहेका अर्घाखाँची जिल्ला भूमिका स्थान ९ का ३५ वर्षीय कृष्ण गैरेको कोरोना परीक्षण रिर्पोट पोजिटिभ आएको छ ।
मृतक गैरेको शव उनीसँगै यात्रामा रहेका उनका भतिजालाई कानुनी प्रक्रिया पुरा गरी गत जेठ १२ गते नै जिम्मा पठाइएको इलाका प्रहरी कार्यालय कृष्णनगरले जनाएको छ ।