श्रीमतीलाई '१२ बजे आइपुग्छु' भनेका उनी अब कहिल्यै आउने छैनन्...
बुटवल : अर्घाखाँची भुमिकास्थन नगरपालिका–९ का ३१ वर्षीयाले जेठ सात गते आमालाई फोन गरे। ‘आमा यहाँ काम बन्द भयो, म त्यतै आउँछु, एकदुई दिनभित्र हिँड्छु होला।’ भारतको अहमवादमा होटलमा कुकको काम गर्ने उनी कहिले आउलान भन्ने प्रतिक्षामा थिए घरका परिवार। जेठ ९ गते उनी नेपाल आउने रिजर्भ बस चढे। १० गते बिहान ८ बजे श्रीमतीलाई फोन गर्दै भनेका थिए,‘म बसमा आउँदैछु, १२ बजेसम्म त्यही आइपुग्छु होला, चिन्ता लिनु पर्दैन।’ १४ वर्षदेखि भारतमा काम गर्दै आएका उनी गतवर्षको दसैंको टिका लगाएर फर्किएका थिए। छोरो आउने भएपछि आमाले छिमेकीलाई कहाँको क्वारेन्टाइनमा राख्ने होला भन्दै मेसो मिलाउँदै थिइन्।
दुई वर्षीया छोरा र ६ वर्षीया छोरी, आमा, श्रीमती उनी आउने बाटो कुरिरहेका थिए। उनले बाटोमा आउँदा समेत घरमा फोन गरेका थिए। ‘अर्घाखाँचीका धेरै जना नै छौं, बसमा आउँदैछौं, उनले भनेका थिए। त्यसो भनेको एक घण्टापछि छिमेकी विष्णु पौडेललाई खवर आयो,‘उनको बाटैमा ज्यान गयो।’ बाबु आउने मुलबाटोमा टोलाउँदै गरेकी छोरी, आमा र श्रीमतीले थाहा पाए, उनी अब कहिल्यै आउने छैनन्। अर्घाखाचीको भूमिकास्थान नगरपालिका र सन्धिखर्क नगरपालिकामा घर भएकाहरु भारतबाटै दुई वटा बर्स रिजर्भ गरेर स्वदेश फर्किदै थिए। युवक भुमिकास्थानको बसमा चढे। बीचमा आउँदा उनी फेरि सन्धिखर्कको टोली रहेको बसमा सरे। जुन बसमा उनका आफन्तहरु धेरै थिए।
भारतको लखनऊ कटेपछि उनमा बेचैन भयो। बस रोकेर पानी खान जान्छु भन्दै निस्किए। पानी खाएर बसमै फर्किए। बस आफ्नै रफ्तारमा कुदिरहेको थियो। बीचमै उनले असहज मससुस गरे। ‘मलाई त निकै गाह्रो भयो भन्दै बसभित्र वरपर गरिरहेका थिए, बसका अन्य यात्रुलाई उद्धृत गर्दै भुमिकास्थान-९ का वडाध्यक्ष नारायण खनालले अन्नपूर्ण अनलाइनसँग भने। बसभित्रै बेचैन भएका उनी एकैछिनमा ढले। यात्रुहरुले के भयो, कसो भयो भन्न नपाउँदै उनको प्राण गयो। करिव ४० जना यात्रु बोकेका कोहीले उनलाई बचाउन सकेनन्। उनले जीवन त्याग्दा आफ्नो देश १० किलोमिटर टाढा मात्रै थियो। सग्लै हुँदा उनी बसको बीच सिटमा थिए। ज्यान गएपछि अन्य यात्रुले पछिल्लो सिट खाली गरे। चार सिट ढाकिने गरी उनलाई पल्ट्याइदिए। पछौरीले ढाकिएर मृत शरीर नेपाल प्रवेश गर्यो।
कपिलवस्तुको कृष्णनगर नाकामा जेठ १० गते आएका उनीहरुको टोलीका सदस्य कसैलाई के कारणले मृत्यु भयो थाहा भएन। कतिले हर्टअट्याक भने। कपिलवस्तु प्रशासनले शवलाई तुरुन्त गाउँपालिकामै पुर्याउन निर्देशन दियो। शव बोक्न शवबहान समेत उपलब्ध भएन। भूमिकास्थान नगरपालिकाका मेयर रेशम थापा भन्छन्‘हामीले पिकअप गाडीमा राखेर शवलाई सन्धीखर्क पुरायौं।' मृत्युको कारण नखुलेपछि उनलाई कोरोना छ कि भन्ने आंशका गरियो। जेठ १० गते नै मृत शरीरबाट स्वाब निकालिएको थियो। ११ गते सन्धिखर्क पुराएर परिवारको सहमतिमै शव गाडियो। मृत्युको छ दिनपछि भैरहवास्थित प्रयोगशालाले रिपोर्ट निकाल्यो, उनमा कोरोना पोजिटिभ छ।
‘कोरोना हुनसक्छ भन्ने आशंकामा हामीले शवलाई सुरक्षित रुपमै गाडेका थियौं, मेयर थापाले भने,‘उनको सम्पर्कमा आएकालाई क्वारेन्टाइनमा राखिएको छ।’ भारतमा मृत्यु भए पनि उनको मृत्युलाई नेपालमा गणना गरिएको छ। उनी छैठौ मृतक बने। अन्य अधिकांश मृतकजस्तै मृत्यु पर्यन्तमात्रै उनलाई कोरोनाको ट्याग लगाइदियो। भारतमा लकडाउन भएपछि नै उनी स्वदेश फर्किन चाहन्थे। तर उनका लागि आफ्नै मुलुकको ढोका बन्द थियो। कैयौ दिन छटपटिए। कसरी आउ भन्दै घरमा फोन गरिरहे। दुई महिनापछि मात्रै उपाय निस्कियो। जतिबेला उनमा कोरोना संक्रमण भइसकेको थियो। कुनै दीर्घरोग नभएका उनी अकस्मात गुमे। आर्थिक बोझ थेगिरहेका उनको मृत्युले परिवार शोकमा छ। आमा भन्छिन्‘छिट्टै फर्किन पाएको भए छोरो हामीसँगै हुने थियो।' छिमेकी दाइ विष्णु पौडेलका अनुसार परिवारको अभिभावक गुमेको छ। उनकै आम्दानीमा परिवार चल्दै आएको थियो। पखेरो बारीले अब उनको परिवार कसरी थेगिएला ?