कोरोनालाई रकम न्यून

कोरोनालाई रकम न्यून

काठमाडौं : सरकारले स्वास्थ्य क्षेत्रमा ९० अर्ब ६९ करोड बजेट विनियोजन गरेको छ । यो कुल बजेटको झन्डै ६.१४९ प्रतिशत हो । अर्थमन्त्री डा. युवराज खतिवडाले स्वास्थ्य क्षेत्रमा विगत वर्षभन्दा बढी बजेट विनियोजन गरेको बताएका छन् । यद्यपि, विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कुल बजेटको झन्डै १० प्रतिशत बजेट विनियोजन गर्नुपर्ने जनाएको छ ।

‘सामान्य अवस्थामा कुल बजेटको १० प्रतिशत स्वास्थ्य क्षेत्रमा विनियोजन गर्नुपर्ने हो । तर, अहिले झन् कोरोना भाइरस संक्रमणको विषम अवस्थामा १० प्रतिशतभन्दा बढी बजेट छुट्याइनुपथ्र्यो’, नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीले भने ।

आगामी वर्षको बजेट विगतका आर्थिक वर्षहरूमा विनियोजन गरिने स्वास्थ्य क्षेत्रको बजेटभन्दा झन्डै २२ अर्ब बढी भने छ । २०७६÷७७ मा ६८ अर्ब ७८ करोड विनियोजन गरिएको थियो । यो कुल बजेटको ४.६ प्रतिशत थियो । त्यस्तै, २०७५÷७६ मा स्वास्थ्य क्षेत्रको बजेट ५६ अर्ब ४१ करोड ९७ लाख थियो ।

कोरोना परीक्षणको दायरा विस्तार, थप क्वारेन्टाइन केन्द्र स्थापना, भरपर्दो उपचार सेवा विस्तार र नागरिकको मनोवैज्ञानिक त्रासलाई सम्बोधन गर्न आवश्यक स्रोतको व्यवस्था मिलाइएको अर्थमन्त्री डा. खतिवडाले बताए । कोरोना संक्रमण नियन्त्रण तथा उपचारका लागि तत्काल आवश्यक पर्ने औषधि, उपकरण तथा उपचार सामग्री कमी हुन नदिन ६ अर्ब बजेट छुट्याइएको छ ।

संघका अध्यक्ष डा. कार्कीले कोरोनाका लागि विनियोजित बजेट न्यून भएको बताए । ‘कोरोना संक्रमितको संख्या बढिरहेको छ’, उनले भने, ‘कोरोना संक्रमण दुई–तीन महिनापछि निर्मुल हुन्छ भन्ने सोच राखेर न्यून बजेट विनियोजन गरेको देखियो ।’

चिकित्सक, स्वास्थ्यकर्मी तथा प्रयोगशालामा कार्यरत कर्मचारीलाई व्यक्तिगत सुरक्षा उपकरणको व्यवस्थासहित सेवामा उत्पे्ररित गर्न प्रोत्साहन भत्ताको व्यवस्था गरिएको छ । कोरोनालगायत अन्य संक्रामक रोगविरुद्ध कार्यरत सबै स्वास्थ्यकर्मीको ५ लाख रुपैयाँसम्मको निःशुल्क स्वास्थ्य बिमाको व्यवस्था गरिएको छ । संघका अध्यक्ष कार्कीले चिकित्सकलगायत स्वास्थ्यकर्मीको सेवासुविधामा वृद्धि नगरिएको बताए । ‘स्वास्थ्यकर्मीको सेवासुविधामा उल्लेखनीय वृद्धि गरी मनोबल बढ्ने गरी बजेट आएन’, उनले भने ।

आगामी वर्ष काठमाडौं उपत्यकामा ३ सय शय्यासम्मको छुट्टै सरुवा रोग अस्पताल निर्माण, उपत्यका र प्रदेश राजधानीका सरकारी अस्पतालमा थप २ सय ५० आईसीयू बेड स्थापना गरिने बजेटमा छ ।

सबै प्रदेश राजधानीमा ५० शय्याको सरुवा रोग अस्पताल सञ्चालन गरिने भएको छ । पोखरा र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र कोसी, नारायणी, भरतपुर, भेरी, डडेलधुरा अस्पतालको स्तरोन्नति गरी विशेषज्ञ अस्पतालका रूपमा विकास गर्दै लगिने भएको छ । स्वास्थ्य पूर्वाधार विकासका लागि १२ अर्ब ४६ करोड विनियोजन गरिएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.