भारतबाट आएका पुरुषले गरे क्वारेन्टाइनमै आत्महत्या
गुल्मी : छत्रकोट गाउँपालिका ४ दिगाममा क्वारेन्टाइनमा बसेका एक वृद्धले आत्महत्या गरेका छन् । स्थानीय आदर्श माध्यमिक विद्यालयको क्वारेन्टाइनमा बसेका ५६ वर्षीय चन्द्रबहादुर परियारले शनिबार साँझ आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
केही दिनअघि भारतबाट आएका उनलाई गाउँपालिकाले क्वारेन्टाइनमा राखेको थियो । साँझपख शौचालय गएका उनी आत्महत्या गरेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
खाना खान नआएपछि उनको खोजी गरिएको थियो । उनको शव पोष्ट मार्टमका लागि गुल्मी अस्पताल ल्याउने क्रममा रहेको गुल्मीका एसपी राजेन्द्रसिँह खड्काले बताए ।
घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।