रुखमुनि क्वारेन्टाइन
कपिलवस्तु : भारतबाट आएका सर्वसाधारण युवालाई यशोधरा गाउँपालिकाको वडा नं. ८ कार्यालयले क्वारेन्टाइनको व्यवस्था नगर्दा गाउँको एक बगैचा र खुला आकाशमा उनीहरु बस्न बाध्य छन् । वडा नं. ८ को मधुनगरा गाउँ किनारको बगैचालाई भारतबाट फर्केका स्थानीय २३ जना युवाहरुले क्वारेन्टाइन बनाएका छन् ।
दिनभरि रुखको छहारीमा बस्छन् सांझ परेपछि सामान्य त्रिपालको ओत लगाएर रात बिताउँछन् । 'कोरोना संक्रमणभन्दा बढी डर घाम पानी तथा विषालु सर्पको छ', वडा नं. ८ मधु नगराका ३९ वर्षीय चन्द्रभूषण मल्लाहले भने ।
मल्लाह २२ दिनदेखि रुखमुनिको खुल्ला क्वारेन्टाइनमा बसेका छन् । 'राती हुरी बतास आउँदा रुखको फेदमुनि रुख समातेर बस्छौं', मल्लाहले भने, 'हामीलाई घाम पानी ओत्न सामान्य त्रिपालसम्म पनि वडा अध्यक्षले दिएनन् । निर्वाचनका बेला भोट माग्न आउने नेतालाई हाम्रो कुनै वास्ता छैन, यसको हिसाब किताब अब निर्वाचनका बेला हामी लिन्छौं।'
वडा अध्यक्षसहित वडा कार्यालयका कुनै प्रनिनिधिले आफूहरुको खोज खबर नलिएको उनीहरुको गुनासो छ । गुजरातबाट घर फर्केका स्थानीय राजु मल्लाह पनि १८ दिनदेखि यहीं बस्दै आएका छन् । घर अथवा गाउँमा पसे कोरोना संक्रमणको जोखिम घर परिवार र गाउँमै पर्न सक्ने भएकाले आफु सुख दु:ख गरेरै भए पनि क्वारेन्टाइनमा बस्दै आएको उनले बताए । खुला क्वारेन्टाइनमा उनीहरुले आआफ्नो घरबाट खाट, ओढ्ने ओछ्याउने, झुल लगायतका आवश्यक सामाग्री ल्याएका छन् ।
' जसरी पनि कोरोना परीक्षण र रिर्पोट आउन्जेलसम्म क्वारेन्टाइनमै बसेका छौं', मल्लाहले भने, 'कोरोना रिर्पोट नेगेटिभ आए घर जाऔंला, पोजिटिभ आए आइसोलेसन वार्ड जाऔंला ।' भारतका विभिन्न शहरबाट आएका सर्वसाधारणको क्वारेन्टाइन व्यवस्थापनका लागि सवै वडा अध्यक्ष तथा वडा कार्यालयलाई जिम्मेवारी दिइएको यशोधरा गाउँपालिकाका प्रमुख गिरिजेश पाण्डेयले बताए । 'वडा कार्यालयले खानासम्म पनि नदिएको भन्ने गुनासो आएपछि खाना खुवाउने प्रबन्ध मिलाएको छु', गाउँपालिका प्रमुख पाण्डेयले भने, 'अन्य कुराहरु के भएको हो ? वडा अध्यक्षसँग बुझ्दैछु ।'