सुदूरपश्चिममा थपिए पाँचजना कोरोना संक्रमित
धनगढी : सुदूरपश्चिमको आइसोलेसनमै ज्यान गुमाएकी बालिकासहित कोरोना बिरामीको संख्या २६ पुगेको छ। बाजुराको बुढिगंगा नगरपालिका १ की दुई वर्षीय बालिकाको आइतबार बिहान बाजुरा जिल्ला अस्पतालमा मृत्यु भएको थियो ।
उनका बुवाआमा जेठ १३ गते भारतबाट फर्केका थिए । बाटोमै बिरामी परेकी उनलाई थप उपचारका लागि जिल्ला अस्पताल बाजुराको आइसोलेसन वार्डमा भर्ना गरिएको थियो । बालिका र बुवा-आमाको शनिबार स्वाब संकलन गरी धनगढी पठाइएको थियो ।
सुदूरपश्चिमका स्वास्थ्य निर्देशक डाक्टर गुणराज अवस्थीले बालिकामा पनि कोरोना पुष्ट भएको र २३ वर्षीया आमामा पनि कोरोना पुष्टि भएको बताए । मृतक बालिकाकी २३ वर्षीया आमा, कैलालीको धनगढी उपमहानगरपालिका ३ का ४७ वर्षका पुरुष, भजनी नगरपालिका वडा नम्बर ७ का २३ वर्षीय पुरुष र जानकी गाउँपालिका वडा नम्बर ९ का ३४ वर्षीय पुरुषमा कोरोना पुष्टि भएसँगै सुदूरपश्चिममा कोरोना बिरामीको संख्या २६ पुगेको हो ।
कुल २६ जनामध्ये ५ जना निको भएर घर गइसकेका छन् भने सेती प्रादेशीक अस्पतालमा ७ जना, टीकापुर अस्पतालमा ८ जना, बैतडी, दार्चुला, डडेल्धुरा, बाजुरा र सुर्खेत प्रादेशीक अस्पतालमा १/१ जनाको उपचार भइरहेको छ ।
आइतबार कोरोन पुष्टि भएका धनगढी उपमहानगरपालिका वडा नम्बर ३ का पुरुषलाई सेती प्रादेशिक अस्पताल, भजनी नगरपालिका र जानकी गाउँपालिकाका बिरामीलाई टीकापुर अस्पताल लगिएको छ ।
बाजुरामा छोरी गुमाएपछि कोरोना पुष्टि भएकी महिलाको भने जिल्ला अस्पताल मार्तडीको आइसोलेसन वार्डमा उपचार भइरहेको छ । आइतबार कोरोना पुष्टि भएका सबैजना जेठ महिनाको २ गतेपछि विभिन्न अवधिमा भारतबाट नेपाल फर्केका र क्वारेन्टाइन अवधिमा आ-आफ्नो वडाका क्वारेन्टाइनमा बसिरहेका व्यक्ति हुन्।
सोमबारसम्म मात्रै सुदूरपश्चिमका ९ जिल्लामा ३६ हजार ९९३ जना भारतबाट फर्केकाहरु क्वारेन्टाइन बसेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।धेरै स्थानमा पीसीआरका लागि भिटिएम र आरडीटी टेस्ट किटको अभाव भएकाले उनीहरुमा कोरोनाको जाँच हुन सकेको छैन ।
प्रतिक्रिया दिनुहोस !