‘भेडी खर्क कि क्वारेन्टाइन ! ’
मुगु : गाउँपालिकाका स्थानीयलाई उद्दार गरी घर ल्याउदा कोरोना भाइरस सक्रमण हुन सक्ने भन्दै रोकथाम तथा नियन्त्रणका लागि खत्याड गाँउपालिकाले पाटनमा प्लास्टिकको क्वारेन्टाइन बनाएको छ। त्यहाँ बनाइएका अव्यवस्थित क्वारेन्टाइनमा स्थानीय भेडी खर्कमा भेडा बाख्रा जस्तै कोच्चिएर बस्न बाध्य छन्।
खत्याडबासीलाई क्वारेन्टाइनमा राख्नका लागि गाउँपालिकाले १० स्थानमा क्वारेन्टाइन स्थापना गरेको हो। क्वारेन्टाइन मध्ये सोही गाँउपालिका-५ हलेखाडा र छोटेमा स्थापना गरिएको क्वारेन्टाइन वर्षायाममा भेडा बाख्रा राख्ने पाटन क्षेत्रमा पर्दछन् । क्वारेन्टाइनमा भेडा बाख्रालाई खोरमा थुने जस्तै गरी राखिएको त्यहाँ बस्नेको गुनासो छ।
समुन्द्री सतहबाट २ हजार ६ सय मिटर उचाइमा रहेको हलेखाडा र छोटेमा स्थापना गरिएका क्वारेन्टाइन तरकारी खेतीका लागि प्रयोग गरिने पातलो प्लास्टिकले निमार्ण गरिएका छन्। जुन प्लास्टिकले बनेका क्वारेन्टाइनमा हलेखाडामा ४८ र छोटेमा १ सय १९ जना राखिएको छ।
एउटा प्लास्टिकको पालमुनी २० देखि २५ जना भारतबाट फर्केका खत्याडबासीलाई राखिएको छ। पाटन क्षेत्रको उक्त भूभागमा आकासमा बादल देखिने बित्तिकै पानी पार्छ। आगो ताप्नका लागि जंगलबाट दाउरासमेत ल्याउन पाइदैन। क्वारेन्टाइनमा सानासान बालबालिकासमेत छन्।
चिसो भुइँमाथि सुत्नु पर्दा कोरोनाको सक्रमण भन्दा चिसोले ज्यान जाने खतरा छ। क्वारेन्टाइनमा हेल्थ डेस्कको पनि व्यवस्था छैन। क्वारेन्टाइनमा बसेकाको अहिलेसम्म ज्वरोसमेत नापिएको छैन। कोरोना परीक्षणका लागि आरडीटी र पीसीआर विधिको प्रयोग कहिले हुने हो थाहै छैन।
‘क्वारेन्टाइनमा शौचालय र खानेपानीको पनि व्यवस्था छैन। बिहान बेलुका भात खान दिएका छन्’, भारतको नैनितालबाट फर्किएका खत्याड गाउँपालिका ३ का रविन बानियाँले भने, ‘ सुनेको मापदण्ड अनुसारको सुविधा हुने कुरै भएन। हामीलाई पशु चौपाय राख्ने खुला पाटन क्षेत्रमा प्लास्टिकको पालमुनी राखिएको छ।’
क्वारेन्टाइनमा सबै भन्दा समस्या खानेपानीको छ। क्वारेन्टाइन व्यवस्थापनको जिम्मा पाएका युवालाई समेत मास्क, स्यानिटाइजर दिइएको छैन। जोखिम मोलेर व्यवस्थापन गर्नु परेको क्वारेन्टाइन व्यवस्थापन समितिका संयोजक कलबहादुर रोकायाले बताए।
गाउँपालिकाले हलेखाडा, छोटे झुगला लगायत १० स्थानमा क्वारेन्टाइन स्थापना गरेको छ। कोरोना रोकथाम तथा नियन्त्रणका लागि जिल्लाबाहिर रहेका नागरिकलाई गाउँपालिका प्रवेश दिएको छैन।
क्वारेन्टाइनमा समस्या भएको गुनासो आएपछि व्यवस्थापनको बारे बुझन आफूसहितको टोली आइतबार छोटे तिर जान लागेको खत्याड गाउँपालिकाकी उपाध्यक्ष जयनन्दा रावलले जानकारी दिइन्।