भारतबाट भित्रिने दुर्गमका नागरिकलाई सुर्खेतमै राखिने

भारतबाट भित्रिने दुर्गमका नागरिकलाई सुर्खेतमै  राखिने

सुर्खेतः कर्णालीमा भारतबाट भित्रिने दुर्गमका नागरिकलाई अब सुर्खेतमै रोकिने भएको छ । प्रदेश सरकारले अब कर्णाली भित्रिने दुर्गम हुम्ला, डोल्पा र मुगका नागरिकलाई सुर्खेतमै व्यवस्थापन गर्ने निर्णय गरेको छ । 

भारतलगायतका देशबाट भित्रिने ती जिल्लाका बासिन्दालाई अब सुर्खेतमै स्थापना गरिएको क्वारेन्टाइनमा राख्ने र कोरोनाको अन्तिम रिपोर्ट नेगेटिभ आएपछि मात्र जिल्ला पठाइने भएको हो ।

यसअघि हुम्ला, डोल्पा र मुगुका नागरिकलाई प्रदेश सरकारले रातारात गाउँ पठाउँदै आएको थियो । तर रातारात गाउँ पठाइएका उनीहरुको कोरोना परीक्षणका लागि स्वाब लिन हेलिकोप्टर नै चार्टर्ड गर्नु परेको थियो । 

भौगोलिक रुपमा विकट भएको र सडक मार्गबाट सहज पहुँच नहुँदा ती जिल्लामा स्वाब लिन हेलिकोप्टर प्रयोग गर्ने गरिएको थियो । यसले प्रदेश सरकारको दोहोरो खर्च भएको भन्दै त्यहाँका नागरिकलाई सुर्खेतमै व्यवस्थापन गर्न प्रदेश सरकारमाथि दबाव बढेको थियो ।

अन्ततः प्रदेश सरकारले पनि अब बाहिरबाट कर्णाली भित्रिने दुर्गम जिल्लाका नागरिकलाई सुर्खेतमै व्यवस्थापन गर्ने निर्णय गरेको हो । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा आइतबार सम्पन्न प्रदेश विपद् व्यवस्थापन केन्द्रको बैठकले दुगर्मका नागरिक कर्णाली भित्रिएमा उनीहरुलाई सुर्खेतमै रोक्ने निर्णय गरेको हो ।

यो निर्णयअनुसार अब भारत, तेस्रोमुलुक र देशकै अन्य स्थानबाट कर्णाली भित्रिने दुर्गमका नागरिकलाई कोरोना परीक्षणको रिपोर्ट नआउँदासम्म सुर्खेतमै राखिने छ । 

दुर्गमका नागरिकलाई हतारमा पठाउँदा स्वाब लिन कठिन भएको र संक्रमण भएमा पनि हेलिकोप्टबाटै उद्दार गरेर उपचारका लागि ल्याउनुपर्ने अवस्था रहेकाले सुर्खेतमै व्यवस्थापन गर्ने निर्णय गरिएको मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयले जनाएको छ ।

यसले सरकारको दोहोरो खर्च रोकिने र बाहिरबाट आउने शंकास्पदलाई सुर्खेतमै रोक्दा हालसम्म संक्रमण नदेखिएका ती जिल्ला पनि सुरक्षित हुने प्रदेश सरकारको दाबी छ ।

यो निर्णयसँगै अब ती जिल्लाका बासिन्दा बाहिरबाट आएमा सुर्खेतको क्वारेन्टाइनमा राख्ने र स्वास्थ्य परीक्षण गरी कोरोना नभएको पुष्टि भएपछि मात्रै गाउँ पठाइने छ । 

ती जिल्लाका नागरिकलाई पहिले रातारात गाडीमा घर पठाउने र हेलिकोप्टर चार्टर्ड गरेर स्वास्थ्य परीक्षण तथा डाक्टर खटाउँदा सरकारको दोब्बरो खर्च भएको भन्दै आलोचना भइरहेको छ । 'डोल्पा, मुगु र हुम्लामा कोरोना संक्रमणको जोखिम कम छ, ती जिल्लामा अब बाहिरबाट आउने नागरिक पनि थोरै छन्, 'मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय स्रोतले भन्यो, 'दुर्गममा संक्रमण रोक्न र सरकारको दोहोर खर्च जोगाउन पनि यस्तो निर्णय गरिएको हो ।'

तीन जिल्लामध्ये डोल्पामा सबैभन्दा कम अर्थात एक हजार नागरिक मात्रै भित्रिने अनुमान गरिएको छ । 'पहिले पनि दुर्गमका नागरिकलाई सुर्खेतमा रोक्न नसक्दा हेलिकोप्टर चार्टर्ड गरेर स्वाब संकलन गर्दा दोम्बर खर्च लाग्यो, त्यो खर्चले उहाँहरुलाई सुर्खेतमै व्यवस्थापन गर्न सकिने रहेछ,' स्रोतले भन्यो, 'हिमाली जिल्लाका नागरिकलाई सुर्खेतमै राख्दा सरकारको खर्च कटौती हुन्छ, अर्कोतर्फ दुर्गममा संक्रमणको खत्तरा पनि कम हुन्छ ।'

यसअघि ती जिल्लामा बाहिरबाट गएका सम्पूर्ण नागरिकको कोरोना परीक्षण सकिएको छ ।संयुक्त विधिबाट गरिएको परीक्षणमा ती जिल्ला कोरोनामुक्त देखिएको प्रदेश सरकारको दाबी छ ।

दुर्गममा संक्रमण फैलिए थेग्न गाह्रो हुनेभन्दै यस्तो निर्णय गरिएको प्रदेश सरकारको भनाइ छ । यही जोखिम रोक्न अब बाहिरबाट आउने ति जिल्लाका नागरिकलाई सुर्खेतमै राख्ने र कोरोना नभएको पुष्टि भएपछि मात्रै गाउँ पठाउने निर्णय गरिएको हो । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.