चीनले दियो स्वास्थ्य सामग्री
विराटनगर : चीनको स्वशासित क्षेत्र तिब्बतले प्रदेश १ सरकारलाई स्वास्थ्य सामग्री उपलब्ध गराएको छ। सो स्वास्थ्य सामग्री नेपाल चीन कार्यकारी परिषद्ले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई हस्तान्तरण गरेको छ।
सोमबार मुख्यमन्त्री राईलाई परिषद्का प्रदेश १ कोअर्डिनेटर मुकेश उपाध्यायले स्वास्थ्य हस्तान्तरण गरेका हुन्। करिब ७ करोड ७४ लाख रुपैयाँ हाराहारीको स्वास्थ्य सामग्री प्राप्त भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ। प्रदेशलाई प्राप्त भएको स्वास्थ्य सामग्रीमा पीसीआर मेसिन २ सेट, भेन्टिलेटर ३ थान, एक्स रे पोर्टेबल मेसिन १ थान छन्। त्यस्तै आरडीटी किट १० हजार, भीटीएम भाएल १० हजार, स्वाब स्टिक २० हजार थान, पीपीई ५ हजार, एन ९५ माक्स ५ हजार थान छन्।
त्यसैगरी सर्जिकल माक्स २० हजार, सर्जिकल ग्लोब्स १० हजार, फेस सिल्ड २५ सय, आइआर थर्माेमिटर २ सय, अल्ट्रा सोनो ग्राम पोर्टेबल मेसिन १ थान र ५ सय मिलिलिटरको ह्यान्ड स्यानिटाइजर रहेका छन्। प्राप्त स्वास्थ्य सामग्री प्रदेश सरकारले बनाएको कोरोना रोकथाम, उपचार र परीक्षण योजनामा प्रभावकारी रुपमा प्रयोग गरिने मुख्यमन्त्री राईले बताए। ‘हामी प्रदेश १ का धेरै भन्दा धेरै नागरिकहरुको कोरोना परीक्षणमा छौं,’ उनले भने ‘प्राप्त भएका सामग्रीले थप सहयोग पुगेको छ।’ सामग्री उपलब्ध गराएकोमा मुख्यमन्त्री राईले तिब्बत सरकारलाई धन्यवादसमेत दिए।
यसैवीच प्रदेश १ सरकारले कोरोना परीक्षणको दायरा फराकिलो बनाएको छ। यो प्रदेशमा अहिलेसम्म करिब ८ हजार जनाको पीसीआर परीक्षण भएको छ। प्रदेश १ मा अहिलेसम्म १ सय ६२ जनालाई कोभिड-१९ पुष्टि भएको छ भने ३० जना निको भएर घर फर्किएका छन्।