कोरोना कहर : भारतबाट फर्किनेको व्यवस्थापनमै समस्या, जोखिममा गाउँ

कोरोना कहर : भारतबाट फर्किनेको व्यवस्थापनमै समस्या, जोखिममा गाउँ

धादिङ : भारतबाट घर फर्किएका त्रिपुरासुन्दरी गाउँपालिकाका १ का एक युवा आइतबार जिल्ला सदरमुकाम धादिङवेशीबाट मोटरसाइकल चढेर गाउँ पुगे । घर पुग्नु अघि र पछि पनि केही साथीभाइसँग भेटघाट गरे । गाउँ फर्किएर क्वारेन्टाइन नबसेको र साथीभाइ भेटघाटमा हिँडेको कुरा त्यसपछि मात्रै फैलिएपछि सल्यानटार प्रहरी चौकीको टोलीले नियन्त्रणमा लियो र गाउँपालिकाले रानीपौवामा संचालन गरेको क्वारेन्टाइनमा लगेर राख्यो ।

यो समस्या अहिले धादिङका सबैजसो स्थानीय तहहरुले भोग्न थालेका छन् । गाउँपालिकाको आधिकारिक सम्पर्कमा आएकालाई पनि व्यवस्थापन गर्न स्थानीय तहलाई चुनौती थपिदै गएको छ । साथै विना कुनै सूचना गाउँ फर्किनेले भने गाउँमा झनै त्रास बढाएका छन् ।

त्रिपुरासुन्दरी गाउँपालिका १ का स्थानीय प्रकाश श्रेष्ठले भने, 'सल्यानटारमा बनाइएको क्वारेन्टाइन गाउँ बीचमा छ । कुनै कम्पाउण्ड छैन । क्वारेन्टाइनसँगै आँगन जोडिएको स्थानीयलाई क्वारेन्टाइनमा कसरी सुरक्षा दिएर राख्न सक्ला त गाउँपालिकाले । यो त झन जोखिम बढाउने काम मात्र भयो ।'

यतिबेला मोटरको सहायताले भारतबाट आफ्ना गाउँ ठाउँ फर्किने र गाउँपालिकाले पनि आफ्नो क्षेत्रका स्थानीयलाई सीमा क्षेत्रबाट उद्धार गरेर ल्याउने क्रम दिनहुँ बढिरहेको छ । 

तर, तिनीहरुलाई सोझै गाउँघरमा पुग्न नदिइ चेकजाँच गरेर मात्रै घर फर्किने वातावरण बनाउन निकै गाह्रो पर्न थालेको छ । समयमै चेकजाँच र पीसीआर गराउन नसक्दा एकातिर क्वारेन्टाइनको व्यवस्थापन गर्न गाह्रो हुँदै गइरहेको छ भने क्वारेन्टाइनमै रोग फैलने हो कि भन्ने चिन्ता थपिएको छ ।

जिल्ला प्रहरी कार्यलय धादिङको रेकर्ड अनुसार जेठ १ गते यता भारतबाट ६ सय ५३ जना नागरिक धादिङ भित्रिएका छन् । धादिङ प्रहरी प्रवक्ता डिएसपी रुपक खड्काले भने, 'भारतबाट आउनेलाई जिल्ला भित्रिने नाकाबाटै प्रहरीको निगरानीमा सदरमुकाम र प्रहरी चौकीमा ल्याइ यहाँबाट सम्बन्धित गाउँपालिकालाइ जिम्मा लगाउने गरेका छौँ।उनीहरुलाइ सम्बन्धित स्थानीय तहहरुले आफ्नो क्षेत्रमा क्वारेन्टाइनमा लगेर राखेका छन् ।'

नीलकण्ठ नगरपालिकाका स्वास्थ्य संयोजक विष्णु रिजालले भने, 'भारत र देशकै अन्य क्षेत्रबाट आएका करिब ४ सय जना हाम्रो नगरक्षेत्रका विभिन्न ठाउँमा संचालित क्वारेन्टाइनमा रहेका छन् । उनीहरुको दैनिक व्यवस्थापन खर्च मात्रै ९० हजार भन्दा बढी आइरहेको छ।'

क्वारेन्टाइनमा रहेका सबैजनाको आरडीटी गराउन पनि किट अभाव भएपछि नगरपालिकाले आफ्नै खर्चमा किट खरिद गर्ने तयारी गरिरहेको रिजालले बताए । 'हामीले क्वारेन्टाइनमा रहेको सबैजनाको पीसीआर नै गराउन माग गरेका हौँ, रिजालले भने, 'तर सबैलाई चेकजाँच गर्ने गरी स्वास्थ्य कार्यलयले भिटिएम उपलब्ध गराउन सकेको छैन, कम्तीमा पनि आरडीटी गराएर घर पठाउने सोचमा छौँ ।'

स्वास्थ्य कार्यलय धादिङका महामारी फोकल पर्सन दीपक अछामीले शंकास्पदहरुको मात्र पीसीआर गराइरहेको जानकारी दिए। उनले भने, 'क्वारेन्टाइनका सबैलाई पीसीआर गराउन सक्ने अवस्था छैन, लक्षण देखिएका, पहिले संक्रमितको सम्पर्कमा रहेकालाई भने परीक्षण गराउने काम गरिरहेका छौं।'

कर्णाली प्रदेश र तराइका जिल्लामा पछिल्लो समय भारतबाट आएका नै बढी संक्रमित भेटिएका छन् । धादिङ जिल्लामा भने भारतबाट आएकालाई ४÷५ दिन क्वारेन्टाइनमा राखेर आरडीटी चेकजाँचमा नेगेटिभ आउने वित्तिकै गाउँ पठाउन थालिएपछि स्थानीयले पीसीआरको माग गर्न थालेका छन् ।

सिद्धलेक गाउँपालिकाकी स्थानीय लक्ष्मी सिलवालले भनिन्, 'भारतबाट आएकालाई ५ दिन क्वारेन्टाइनमा राखेर आरडीटी गराउँदै पठाउँदै गरेको छ, अब गाउँमा रोग फैलियो भने कसरी नियन्त्रण होला?'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.