दाङका थप आठ जनामा कोरोना पुष्टि : वडाध्यक्षमा संक्रमण
दाङ : दाङमा थप आठजनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमित पुष्टि भएको छ । मंगलवार बंगलाचुली गाउँपालिका र राप्ती गाउँपालिकाका थप ८ जनामा कोरोना पुष्टि भएको हो ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको स्वाब परीक्षणमा बंगलाचुली गाउँपालिकाका ६ र राप्ती गाउँपालिकाका २ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रतिष्ठानका रजिष्ट्रार कैलाशप्रसाद देवले जानकारी दिए ।
बंगलाचुलीको सुधा मावि झेल्नेटामा गरिएको स्वाब संकलनबाट वडा नम्बर ५ का १९, २७, ३१, ३२ र ५४ वर्षीय पुरुषमा कोरोना देखिएको हो । त्यस्तै बंगलाचुलीकै वडा नम्बर ७ का २९ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको छ । बंगलाचुली गाउँपालिकाबाट पछिल्लो समय ७४ जनाको स्वाब संकलन गरेर परीक्षण गराएको थियो ।
राप्ती गाउँपालिका वडा नम्बर ९ का ५५ वर्षीय र वडा नम्बर १ का १८ वर्षीय पुरुषमा कोरोना पोजेटिभ देखिएको छ । राप्ती गाउँपालिकाबाट १ सय १७ जनाको स्वाब संकलन गरिएकोमा एक सय १५ जनाको नेगेटिभ र दुई जनाको रिपोर्ट पोजिटिभ आएको हो । प्रतिष्ठानमा आइपुगेको अझै एक हजार ५ सय ९४ स्वाब परिक्षण गर्न बाँकी रहेको जनाइएको छ । दाङमा संक्रमित हुनेको सख्या संख्या ५१ पुगेको छ ।
वडाध्यक्षमा संक्रमण
दाङको बंगलाचुली गाउँपालिका एक वडाध्यक्षमा संक्रमण देखिएको छ । बंगलाचुली गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्षलाई कोरोना संक्रमण भएको पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षणमा वडाध्यक्षमा संक्रमण पुष्टि भएको हो ।
भारतबाट आएकाहरुको उद्दार र व्यवस्थापनमा खटिएका ५४ वर्षीय वडाअध्यक्ष कोरोना देखिए पछि बंगलाचुलीका अन्य जनप्रतिनिधि र कर्मचारीको पीसीआर परीक्षण गर्ने तयारी भएको छ।