जुम्लामा पुनः निषेधाज्ञा
दैलेख : जिल्ला प्रशासन कार्यालय जुम्लाले कोरोना भाइरसको संक्रमण फैलिन नदिन बुधबार बिहान ९ बजेदेखि बिहीवार राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको छ।
गत चैत्र १२ गतेदेखि जारी निषेधाज्ञा मंगलवार राति १२ बजे सकिने भएपछि समय बढाइएको हो। प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले मंगलबार सूचना सार्वजनिक गरेर अत्यावश्यक सेवाबाहेक सबै सार्वजनिकस्थल, बजार, उद्योग, कलकार खाना बन्द गर्न आग्रह गर्दै पुनः निषेधाज्ञा जारी गरेका हुन्।
कोरोना संक्रमणको सम्भावित उच्च जोखिमलाई मध्यनजर गरेर कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा संक्रमण फैलिन नदिन पुनः निषेधाज्ञा जारी गरिएको हो। सूचनामा औषधि उपचारबाहेक कुनै पनि व्यक्ति घरबाट बाहिर ननिस्कन, अनुमती प्राप्त सवारी साधन, स्वास्थ्यकर्मी, सुरक्षा निकायलेबाहेक सबै सार्वजनिक तथा निजी सवारी साधन सञ्चालनमा पूर्ण रुपमा रोक लगाइएको छ।
जिल्ला भित्रका औषधि पसल, उपकरण तथा औषधि सामग्री उत्पादन, बिक्री वितरण तथा ढुवानी सेवाबाहेक अन्य सबै पसल बन्द गर्न सूचनामा उल्लेख गरिएको छ। धेरै मानिस जम्मा भएर गरिने धार्मिक तथा सांस्कृतिक कार्यक्रम पूर्ण रुपमा रोक लगाइएको छ। सूचनामा आदेश पालना नभएमा कानून बमोजिम कारवाही हुने पनि उल्लेख छ।