अस्तव्यस्त क्वारेन्टाइन : संघ र प्रदेशबाट आदेश आयो, बजेट आएन

अस्तव्यस्त क्वारेन्टाइन : संघ र प्रदेशबाट आदेश आयो, बजेट आएन

धनगढी : सुदूरपश्चिमका पहाडी जिल्लामा विद्यालय भरिभराउ भएर खुला आकाशमुनि क्वारेन्टाइन बनाएका खबर आइरहेका बेला उपमहानगरपालिका क्षेत्रकै क्वारेन्टाइन अस्तव्यस्त पाइएका छन् । तराईको ४२ डिग्रीको तापक्रममा पनि अधिकांश क्वारेन्टाइनमा पंखा उपलब्ध छैन । खानेपानीको अभाव छ । भारतबाट आएका नागरिकलाई खाना, खाजा, बास र स्वास्थ्य परीक्षण निःशुल्क भनिए पनि त्यो व्यवस्था हुन सकेको छैन ।

धनगढी उपमहानगरपालिका–१ का हर्कबहादुर चन्द पाँच दिनअघि भारतको राजस्थानबाट घर फर्किए । कैलालीको गौरीफन्टा नाकाबाट हजारौंको भीड छिचोल्दै आएका उनलाई धनगढीको मुख्य बजारस्थित त्रिनगर माविको क्वारेन्टाइनमा राखिएको छ । ‘बेसार र नुन हालेको भात मात्रै दिन्छन्, मैले खानै सकिनँ’, उनले भने, ‘घरबाट खाना मगाएर खाइरहेको छु ।’

क्वारेन्टाइन क्षेत्रबाट २० मिनेटमा उनको घर पुगिन्छ । ‘कोरोना लागिहाले पनि इम्युनिटी (प्रतिरोध क्षमता) बढाउनुस् भन्छन् सबै’, उनले भने, ‘बेसार हालेको भात खाए के इम्युनिटी बढ्छ ? त्यसैले घरबाट खाना मगाइरहेको छु ।’

सोही वडाकै उमेशसिंह ठगुन्ना र उनका भाइ भारतबाट फर्किएर क्वारेन्टाइनमा बसेको मंगलबार तीन दिन भयो । उनीहरूले त्रिनगर माविको भवनको बरन्डामा बेन्च राखेर खाट बनाएका छन् । ‘यो विद्यालयभित्र हुलिदियो । केही थिएन । सबै कोठा भरिभराउ थिए । काँ गएर सुत्नु त ? ’, उमेशले भने, ‘त्यसैले यो बरन्डामा बेन्च जोडेर पल्टिने जुक्ति निकालेका छौं ।’

उनीहरूलाई पनि बिहान नास्ता, दिउँसो र बेलुकीको खाना घरकाले ल्याइदिन्छन् । ‘नास्ता र खाना मात्रै होइन, ओढ्ने–ओछ््याउने र पंखासमेत हामीले घरबाट मगाएका छौं’, उमेशले भने, ‘सुरुको दिन त बिजुली पनि दिएन । कराएपछि मात्रै बल्ल बिजुली दियो । अहिले बरन्डामा सुतिरहेका छौं ।’

त्रिनगर माविमा वडा नम्बर १ र ४ का ६० जनाभन्दा स्थानीय क्वारेन्टाइन बसेका छन् । यही विद्यालयमा बसेका धनगढी–३ का ४७ वर्षका पुरुषको दुई दिनअघि स्वाब परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएको थियो ।

सँगै भारतबाट आएर एकै विद्यालयमा क्वारेन्टाइन बसेका व्यक्तिमा कोरोना पुष्टि भएपछि अरू नागरिक त्रासमा छन् । उनीहरूले कोरोनाका बिरामी बसेको कोठा छाडेका छन् । उनले प्रयोग गर्ने गरेको धारामा पनि जान छाडेका छन् ।

‘संक्रमितहरूको पनि सीमामै छनोट गरिदिएको भए राम्रो हुन्थ्यो’, हर्कबहादुर चन्दले भने, ‘कोरोना लागेका र नलागेका एकै विद्यालयमा छन् । एकै धारा छ । शौचालय पनि सेयर गर्नुपर्छ ।’

सरकारले जारी गरेको क्वारेन्टाइन निर्देशिकामा बिहान ८ बजे खाजा, दिउँसो खाना, बेलुकी ४ बजे खाजा र राति ८ बजेभित्र खाना दिनुपर्ने तोकिएको छ । हरेक क्वारेन्टाइनमा बिहान र बेलुकी सबैको थर्मल गनबाट ज्वरो मापन गर्नुपर्ने, क्वारेन्टाइनमा एम्बुलेन्सको व्यवस्था हुनुपर्ने उल्लेख छ ।

‘मापदण्डअनुसारको सेवासुविधा कसरी दिने ? न प्रदेश सरकारबाट पैसा आएको छ न संघ सरकारबाटै’, धनगढी–१ का वडाध्यक्ष सन्तोष मुडभरीले भने । उनले खानेपानी अभाव भएको पनि स्वीकार गरे ।

सरकारले क्वारेन्टाइनमा बसेका व्यक्तिका लागि दैनिक ५ सय १० रुपैयाँ दिने भनेको वडाध्यक्ष मुडभरीले सुनाए । ‘हामीसँग रकम आएको छैन । क्वारेन्टाइनको निर्देशिका पनि बनेको छैन’, उनले भने, ‘त्यो रकम आएपछि नगदै बुझेर लैजानुहोला । अहिले घरबाटै खाना मगाउनुस् भनेका छौं ।’ घरबाट पनि खाना ल्याउन नमिल्नेहरूका लागि त्यसको बन्दोबस्त गरिरहेको उनको भनाइ छ ।

धनगढीका ४० वटा विद्यालयलाई क्वारेन्टाइन बनाइएको छ । ती क्वारेन्टाइनमा सोमबारसम्म १ हजार १ सय २८ जना बसेका छन् । सरकारी विद्यालयमा रहेका अधिकांश क्वारेन्टाइन अस्तव्यस्त छन् ।

उपमहानगरपालिकाले १९ वटै वडाका क्वारेन्टाइन व्यवस्थापन गर्न वडा नम्बर ८ का वडाध्यक्ष नारायणप्रसाद बराललाई संयोजक तोकेको छ । सीमा क्षेत्रबाट भित्रिने नागरिकलाई क्वारेन्टाइनसम्म पुर्‍याउने, त्यहाँको बाँकी व्यवस्थापनको जिम्मा पनि उनलाई नै दिइएको छ ।

‘१ हजार १ सय २८ जना पुगिसके । अझ दैनिक २–३ सय थपिने क्रम जारी छ । प्रदेश र संघ सरकारले सुको रकम पनि पठाएका छैनन्’, संयोजक बरालले भने, ‘क्वारेन्टाइनको राम्रो व्यवस्थापन गर भनेर आदेश, निर्देशन मात्रै आउँछ । निर्देशनले कसरी व्यवस्था हुन्छ ? ’

निजीका क्वारेन्टाइन व्यवस्थित

त्रिनगर माविसँगै पर्खाल जोडिएको बी पोलिटेक्निक इन्स्टिच्युटले महिला र बालबालिकाका लागि क्वारेन्टाइन बनाएको छ । त्यहाँ सीमा नाका खुलेपछि १ सय जना महिला र बालबालिका आएर जाँदै गरेका छन् । मंगलबार पनि तीन जना बालबालिकासहित आठ जना महिला त्यहाँ बसिरहेका छन् ।

‘खान र बस्नका लागि राम्रो व्यवस्था छ । सरसफाइ पनि राम्रो छ । कार्पेट लगाएका कोठाहरु छन् । नास्ता, खाना र बसाइ राम्रो छ’, धनगढी–१ की ६० वर्षीया बसन्ती देबलले भनिन् ।

महिला तथा बालबालिका बढी जोखिममा हुने भएकाले आफ्नो इन्स्टिच्युटलाई क्वारेन्टाइनका लागि दिएको सञ्चालक हीरा भण्डारीले बताइन् । इन्स्टिच्युटमा रहेका महिला र बालबालिकालाई बाहिरबाट पनि सहयोग भइरहेको उनको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.