स्वास्थ्य पूर्वाधारमा खेलाँची

स्वास्थ्य पूर्वाधारमा खेलाँची

सुर्खेत : भारतबाट फर्किनेको संख्या बढेसँगै कर्णालीमा दिनहुँ कोरोना संक्रमित थपिन थालेका छन्। भारतबाट आउनेको व्यवस्थापन र स्वास्थ्य पूर्वाधार निर्माणमा भने सरकार जिम्मेवार भएको छैन।

आवश्यक स्वास्थ्य पूर्वाधार व्यवस्थापनमा खेलाँची गरिएका कारण संक्रमितको उपचारमा समस्या हुन थालेको हो। कालिकोटमा शनिबार एकैपटक १८ जनामा कोरोना पुष्टि भयो। जिल्लाका विभिन्न क्वारेन्टाइनमा रहेका उनीहरूलाई उपचारका लागि आइतबार सदरमुकाम मान्म ल्याइयो। तर जिल्ला अस्पतालमा जम्मा चार शैय्याको आइसोलेसन छ। अस्पतालमा संक्रमितलाई राख्न सम्भव नभएपछि निर्माणाधीन एकीकृत भवनमा राख्नु परेको प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र पौडेलले जानकारी दिए।

कालिकोटमा संक्रमित देखिन थाले पनि हालसम्म त्यहाँ एउटा पनि आईसीयू र भेन्टिलेटर छैनन्। संक्रमितको संख्या बढ्ने सम्भावना रहेको र जिल्लामा स्वास्थ्य पूर्वाधार नहुँदा अब उपचारका लागि जुम्लामा रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लैजाने योजना रहेको जिल्ला स्वास्थ्य सेवा कार्यालयका सूचना अधिकारी कटकबहादुर महतले बताए। उनका अनुसार जिल्लामा हाल जम्मा १५ शैय्या मात्र आइसोलेसन छ। सल्यानमा पनि समस्या उस्तै छ। जिल्लाभर आइसोलेसन शैय्याको संख्या २४ छ। तर, त्यहाँ सोमबार दिउँसोसम्म ४४ जनामा संक्रमण पुष्टि भएको छ।

आइसोलेसन शैय्याभन्दा संक्रमितको संख्या बढी भएपछि सल्यानबाट संक्रमितलाई उपचारका लागि सुर्खेत पठाइएको प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले जानकारी दिए। सल्यानमा भारतबाट आएकाको संख्या धेरै भएकाले अझै संक्रमित बढ्ने देखिन्छ। तर पनि जिल्लामा हाल एउटा पनि आईसीयू र भेन्टिलेटरको सुविधा छैन। दैलेखमा पनि जिल्लाभर आइसोलेसन शैय्याको संख्या एक सय १३ मात्र छ। जहाँ सोमबार दिउँसोसम्म ९८ जनामा कोरोना पुष्टि भइसकेको छ।

संक्रमितको संख्या बढ्दै जाँदा आइसोलेसनको अभाव हुने र उपचार नै नपाउने अवस्था आउने चिकित्सकले चेतावनी दिएका छन्। कर्णालीमा पछिल्लो एक साता मात्र भारतबाट २३ हजार नागरिक भित्रिएका छन्। हालसम्म भारतबाट आएकामा मात्र कोरोना देखिएको छ। तर प्रदेशमा आइसोलेसन शैय्या पर्याप्त नहुँदा अवस्था जटिल हुने देखिएको हो। प्रदेश सभामा कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले प्रदेश सरकार स्वास्थ्य पूर्वाधार व्यवस्थापनमा चुकेको बताए। समयमै आइसोलेसन र उपचारको व्यवस्थापन नभए अवस्था जटिल हुने उनले बताए।

प्रदेश सरकारले सुर्खेतमा रहेको प्रदेश अस्पताल, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र मिसन अस्पताल चौरजहारीलाई कोरोना विशेष अस्पताल तोकेको छ। तर, ती अस्पतालमा पनि आइसोलेसन शैय्या पर्याप्त छैनन्। सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेश अस्पतालमा ७०, प्रतिष्ठानमा एक सय २० र चौरजहारीमा ७६ शैय्या मात्र आइसोलेन उपलब्ध छ। कर्णालीमा सोमबार दिउँसोसम्म दुई सय ३३ जनामा कोरोना पुष्टि भइसकेको छ। संक्रमण पुष्टि हुने दर बढेको र भारतबाट आउनेक्रम जारी रहेकाले यही अवस्थामा कर्णालीमा विद्यमान आइसोलेसन, आईसीयू, भेन्टिलेटर र क्वारेन्टाइनले थेग्ने अवस्था छैन।

मन्त्रालयअन्तर्गतको जनस्वास्थ्य शाखाका प्रमुख नवराज कँडेलले भने, ‘प्रदेशभर आइसोलेसन शैय्या साढे पाँच सय छन्, आईसीयू शैय्या ४० र भेन्टिलेटरको संख्या १७ मात्र छ।’ लकडाउन भएको दुई महिना बित्दा पनि प्रदेश सरकार र स्थानीय सरकारले आवश्यक स्वास्थ्य पूर्वाधार व्यवस्थापनमा खेलाँची गर्दा संक्रमितको उपचारमा समस्या देखिन थालेको हो। आइसोलेसन अभावमै जिल्लाबाट संक्रमितलाई अर्को जिल्लामा पठाउने र क्वारेन्टाइनमै राख्नुपर्ने अवस्था छ। प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक रीता भण्डारीले आफूहरू हतियारबिनाको सिपाही जस्तै बनेको बताइन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.