बागलुङमा भारतबाट आएका १३ सय क्वारेन्टाइनमा
बागलुङ : कोरोना संकट लम्बिंदै जाँदा जिल्लामा भारतबाट आएका १३ सय बढी नागरिकलाई क्वारेन्टाइनमा राखिएको छ । तर, संक्रमण भयावह अवस्थामा रहेका भारतका विभिन्न स्थानबाट आएका उनीहरुलाई व्यवस्थित क्वारेन्टाइनमा राख्न नसक्दा दैनिक कोरोना संक्रमणको जोाखिम बढ्दो छ ।
बागलुङमा मंगलबार रातिसम्म भारतबाट आएका करिब १३ सय ४१ जना १० स्थानीय तहका विभिन्न क्वारेन्टाइनमा छन् । स्वास्थ्य कार्यालय प्रमुख सुरज गुरौका अनुसार सबैभन्दा धेरै ३ सय ३० जना बडिगाड गाउँपालिकामा छन् भने सबैभन्दा कम तमानखोलामा १९ जना छन् ।
ढोरपाटन नगरपालिकामा २ सय ८४, निसीखोलामा २ सय ९१, गलकोट नगरपालिकामा १ सय २२ जना, काठेखोला गाउँपालिकामा ८० जना, बागलुङ नगरपालिकामा ६६ जना, जैमिनी नगरपालिकामा ३९ जना, ताराखोला गाउँपालिकामा ५७ जना र बरेङ गाउँपालिकामा ५३ जना छन् । उनीहरु सबैको अवस्था सामान्य रहेको गुरौले जानकारी दिए । यसमध्ये २ सयजनाको मात्र स्वाब संकलन गरी पिसिआर परीक्षणका लागि पोखरा पठाइएको छ । पोखरा पठाएको स्वाब रिपोर्ट आउन ढिलाइ भएको छ । गण्डकी प्रदेशका ११ जिल्लामध्ये अधिकांशमा कोरोना संक्रमण देखिन थालेपछि पिसिआर रिपोर्टका लागिसमेत २ देखि ४ दिनसम्म प्रतिक्षा गर्नुपर्ने अवस्था आउन थालेको धौलागिरी अस्पतालले जनाएको छ । अन्य ११ सय जनाको पिसिआर परीक्षणका लागि स्वाब संकलन गर्न नै बाँकी रहेको छ ।
जिल्लामा निर्माण भएका ९३ वटा क्वारेन्टाइनमा भारत लगायतका देशबाट आउने नागरिकलाई राख्ने व्यवस्था गरिएको छ । अझै पनि भारतका विभिन्न ठाउँबाट आउनेहरुको संख्या ठुलो रहेको अनुमान छ । बागलुङ जिल्लामा भारतबाट आएका ६ जनामा यसै साता कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएका बडिगाड गाउँपालिकाका दुई जना र तमानखोला गाउँपालिकाका ४ जनालाई धौलागिरी अस्पताल बागलुङको आइशोलेसन कक्षमा राखिएको छ ।
अधिकांश क्वारेन्टाइन विद्यालयमा बनाइएकाले संख्या बढ्दै जाँदा सबैले यथेष्ट सुरक्षा अपनाउन पर्ने आवश्यकता देखिएको स्वास्थ्य कार्यालय प्रमुख गुरौ बताउँछन् । क्वारेन्टाइन निर्माण गर्दा सबै पालिकाहरुले आवास, खानपानदेखि सरसफाई, धारो, शौचालय सम्मको व्यवस्थापनमा बिशेष ध्यान दिनुपर्ने उनको भनाइ छ ।
चैत्र दोस्रो साता बागलुङमा बागलुङ नगरपालिका ४ र ३ का दुईजनालाई कोरोना संक्रमण भएको थियो । उनीहरु दुवै जना निको भएर घर फर्किसकेका छन् ।