धमाधम स्वदेश फर्किंदै मजदुर
भैरहवा : एक अर्का मुलुकमा रोजगारी गर्दै आएका नेपाली र भारतीय नागरिक आआफ्नो देश फर्किन थालेका छन् । विगतमा स्वदेश फर्किन सीमामा नेपाली नागरिकलाई केही कठिनाइ झेल्नुपर्ने भए पनि अहिले केही सहज भएको छ ।
बेलहिया–सोनौली नाकाबाट दैनिक औसत पन्ध्र सयको संख्यामा नेपाली र भारतीय नागरिक स्वदेश फर्किरहेका छन् । अहिले सीमामा नेपालीको भन्दा भारतीयको चाप बढ्दो छ । नेपालीको चाप घट्दो अवस्थामा छ । भारतले दैनिक जसो आफ्नो नागरिक भित्र्याउन थालेपछि नेपालमा रहेका भारतीय मजदुर सीमामा पुग्दा चाप बढ्न थालेको छ । तर, भारतले आफ्नो नागरिक भित्र्याउनमा प्रक्रियागत ढिलाइ गर्दा सीमामा अलपत्र पर्ने संख्या पनि बढ्दै गएको छ । सीमामा दिनुहँ अलपत्र पर्ने संख्या हजार बढी हुन्छ । सीमामा अलपत्र भारतीय नागरिकहरुलाई स्थानीयले खाना खुवाउने गरेका छन् ।
भारत सरकारले उत्तर प्रदेशका नागरिकलाई बेलहिया नाकाबाट स्वदेश प्रवेशको अनुमति दिएपछि नाकामा भारतीय नागरिकको चाप बढेको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले बताए ।‘सीमामा पुगिरहेकालाई आफ्नो देशले भित्र्याउने क्रम जारी छ’, उनले भने, ‘स्वदेश फर्किनका लागि सीमामा अहिले भारतीय नागरिकको चाप बढ्दो छ ।’
उनका अनुसार भारतले बेलहिया नाकाबाट दैनिक एक हजारभन्दा बढी नागरिकहरुलाई देश भित्र्याइरहेको छ । यस नाकाबाट हाल भारत जाने अधिकांश ईंट्टा उद्योगका मजदुर छन् । ईंटाभट्टा उद्योगका मजदुर हालसम्म उद्योगमै थिए । लुम्बिनी ईंट्टा उद्योग व्यवसाय संघले उद्योगमा रहेका करिब साढे ७ हजार मजदुरको उद्दारका लागि रुपन्देही प्रसाशनलाई नामवली बुझाएको थियो । तर, देशैभरबाट भारतका विभिन्न राज्यका नागरिकहरुको एकैसाथ बेलहिया नाकामा आउँदा भीड बढेको संघका महासचिव अजयकुमार गुप्ताले बताए ।
जति संख्यामा भारतले आफ्नो नागरिक भित्र्याउँदैछ करिब त्यति संख्यामा पुन भारतीय सी मामा पुगिरहँदा सीमामा भीड बढेको हो । सुरक्षा संयन्त्रबाट प्राप्त तथ्यांक अनुसार पछिल्लो एक हप्तामा बेलहिया–सोनौली नाकाबाट १५ हजार ६ सय ५१ नेपाली र भारतीय नागरिक आफ्नो देश फर्किएका छन् । जसमध्ये ६ हजार ८ सय १४ जना नेपाली र आठ हजार ८ सय ३७ जना भारतीय नागरिक रहेका छन् ।
पछिल्लो तीन दिन यता यस नाकाबाट दैनिक औसतमा सात सयको संख्यामा नेपाली आइरहेका र १ हजार २ सय भारतीय भारत गइरहेका छन् ।