पश्चिम नवलपरासीमा ८ कोरोना संक्रमित थपिए, आइसोलेसन निर्माणमा बेवास्ता

पश्चिम नवलपरासीमा ८ कोरोना संक्रमित थपिए, आइसोलेसन निर्माणमा बेवास्ता

परासी : पश्चिम नवलपरासीमा कोरोना संक्रमितहरु दैनिक जसो देखा पर्न थालेका छन्। बुधबार मात्र जिल्लामा ८ जना संक्रमित फेला परेका छन्। योसँगै जिल्लामा संक्रमित हुनेको संख्या १५ पुगेको छ। आरटिडी परीक्षणमा पोजिटिभ देखिएका ३९ जनाको पीसीआर रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालयका प्रमुख गौरव ढकालले जानकारी दिए।

उनीहरुको ५ दिनअघि स्वाब संकलन गरेर पठाइए पनि अहिलेसम्म रिपोर्ट आउन सकेको छैन्। ३ नगरपालिका र ४ गाउँपालिका रहेको जिल्लामा सुनवल नगरपालिकामा मात्र अहिलेसम्म संक्रमित देखिएका छैनन्। बाँकी सबै पालिकाहरुमा संक्रमित देखा परेका छन्। संक्रमित देखिएको पालिकाहरुले आइसोलेसन बनाउन बेवास्ता गरेका छन्। सुनवल नगरपालिकामा मात्र २५ बेडको आइसोलेसन तयार गरिएको छ। त्यहाँ नगर क्षेत्रमा देखा परेकालाई मात्र राखिने बताइएको छ। रामग्राममा सुरु गरिएको आइसोलेसन अझै तयार हुन सकेको छैन्। आइसोलेसन नहुँदा यसअघि देखिएका संक्रमितलाई बुटवल र भैरहवा पठाइएको थियो। यसअघि देखिएका संक्रमितमध्ये ३ जना उपचारपछि निको भएर घर फर्केका छन्। बाँकी बुटवलमै छन्।

रामग्राम नगरपालिकाको पाल्ही बहुमुखी क्याम्पसमा निर्माण भइरहेको आइसोलेसन तत्काललाई २५ बेड रहने गरी तयारी सुरु गरिएको प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले बताए। संख्या बढ्दै जाँदा अन्य पालिकाहरुले पनि आइसोलेसन निर्माण गर्ने सोच बनाएको र पालिकाहरुमा आइसोलेसन निर्माण नभएसम्म रामग्राममा तयारी गर्न थालिएको सेन्टरलाई जिल्ला स्तरकै रुपमा सञ्चालन गरिने प्रजिअ पाठकले बताए।  बुधबार देखा परेका संक्रमितहरुमा पाल्हिनन्दन गाउँपालिकाका ७ र बर्दघाट नगरपालिकाका १ जना रहेको स्वास्थ्य प्रमुख ढकालले जानकारी दिए। जसमा पाल्हिनन्दन गाउँपालिका वडा नं. १, २, ३ र ४ का क्रमशः २५, २१, ३४ र २९ वर्षका छन् भने वडा नं. ६ का २०,२१ र २४ वर्षका पुरुष छन्। त्यसैगरी बर्दघाट नगरपालिका वडा नं. १६ का २४ वर्षका पुरुष छन्। उनीहरु सबै भारतको मुम्बईबाट आएर क्वारेन्टाइनमा बसेका हुन्। बर्दघाटमा देखा परेका संक्रमितलाई बुटवल पठाउने तयारी भइरहेको नगर प्रमुख धीरज शर्माले बताए।

पाल्हिनन्दनमा देखा परेका संक्रमितहरुलाई अहिले सम्बन्धित क्वारेन्टाइनको छुट्टै कोठामा राख्ने व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी पाठकले बताए। रामग्राममा निर्माण भएको आइसोलेसनको काम सकिन लागेकोले बिहीबारसम्म ल्याएर राखिने उनले जानकारी दिए।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.