सप्तरीका पहिलो कोरोना संक्रमित डिस्चार्ज
राजविराज : सप्तरीको पहिलो संक्रमित १८ वर्षीय युवक कोरोना भाइरस (कोभिड-१९) लाई जितेर घर फर्किएका छन्। वैशाख २९ गते संक्रमण पुष्टि भएर गजेन्द्रनारायण सिंह अस्पतालको आइसोलेसनमा रहेका डाकनेश्वरी नगरपालिका-३ का युवक २५औं दिनमा डिस्चार्ज भएका हुन् ।
अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासका अनुसार संक्रमित पुष्टि भएको १४औं दिन र २०औं दिन गरिएको परीक्षणमा दुबै रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको बताए ।
पहिलो संक्रमितका साथै उनी डिस्चार्ज हुने पहिलो व्यक्ति भएको डा. दासले बताए ।सप्तरीको २ महिलासहित ५६ संक्रमितमध्ये १२ जना डाकनेश्वरी नगरपालिकाकै छन् ।उनमा कोरोनाको कुनै लक्षण नदेखिएकाले सामान्य अवस्थामा अस्पतालमा राखिएको डा. रणजितकुमार झाले बताए । मजदुरीका लागि चितवन गएका उनी लकडाउनका वेला वैशाख ८ गते मध्यराती घर आएका थिए।उनीसहित १३ जना मजदुर ट्रकबाट पथलैयासम्म आएका थिए ।
पथलैयाबाट पैदल हिड्दै आउँदै गरेका उनीहरूले जङ्गलमा पुन: अर्को ट्रकमा आएका थिए। बीच-बीचमा पैदल हिँडदै आएका उनीहरू कठौनाबाट ट्याक्टरमा चढेर पातोस्थित क्वारेन्टाइन पुगेका थिए ।
वैशाख २८ गते पीसीआर रिपोर्ट नआउँदै उनलाई नेगेटिभ आएको भनेर घर पठाइएको थियो। वैशाख २९ गते रिपोर्ट पोजिटिभ आएपछि आइसोलेसनमा राख्न राजविराज ल्याइएको थियो।
आफूलाई संक्रमण भएको खबरपछि सुरुमा केही आत्तिएको तर बुवाआमा, दिदी र अस्पतालका चिकित्सक, नर्सहरूको हौसला र सल्लाहपछि आत्मबल बलियो भएको उनले बताए।
आत्मबल बलियो बनाएमा कोरोनालाई जित्न सकिने उनले अनुभव सुनाए । यी युवकमा संक्रमण पुष्टि भएको ११ दिनपछि भारतको हरियाणाबाट आएका बलान बिहुल गाउँपालिका-४ का ३५ वर्षीय युवकमा जेठ ९ गते कोरोना संक्रमित पुष्टि भयो । त्यसयता भारतको विभिन्न राज्यबाट आएका र उनीहरूको सम्पर्कमा क्वारेन्टाइनमा रहेको २ प्रहरी र १ कार्यालय सहयोगी गरी सप्तरीमा ५६ जनामा संक्रमण पुष्टि भएको छ।