कोरोना केन्द्र बन्दै नारायण नगर
दैलेख : दैलेखको एउटै स्थानीय तहमा १ सय ९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जिल्लाका ११ वटै स्थानीय तहमा कुल संक्रमित २ सय १७ जना रहेका छन्। नारायण नगरपालिकामा मात्र १ सय ९४ जनामा संक्रमण पुष्टि भएको हो। यो नगरमा बुधवारसम्म संक्रमितको संख्या ८६ थियो। तर, बिहीबार एकैदिन १ सय ८ जनामा संक्रमण पुष्टि भएको हो। नारायण नगरमा एकैदिन सो संख्यामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालय अन्तरर्गतको स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले बताए।
बिहीबार दैलेखका १ सय १३ जना र मुगुका १ जनालाई संक्रमण देखिएको छ। ती मध्ये नारायण नगरमा १ सय ८, नौमूले गाउँपालिकाका ५ र मुगुको खत्याड गाउँपालिकामा एक जना छन्। त्यस्तै दैलेखका दुल्लु नगरपालिकामा ९ जनामा संक्रमण पुष्टि भईसकेको छ। तीमध्ये १ जनाको मृत्यु भएको छ। यस्तै आठबीस नगरपालिकाका १ जनामा संक्रमण देखिएको छ। उनी कर्णालीका पहिलो संक्रमित हुन्।
आठबीस नगरपालिका–१ सात्तलाका ती युवकको कर्णाली प्रदेश अस्पतालस्थित कोरोना अस्पतालमा उपचार भइरहेको छ। यस्तै डुङ्गेश्वर गाउँपालिकाका ३ जना, गुराँस गाउँपालिकाका २, महाबु गाउँपालिकाका १ जनामा संक्रमण देखिएको छ। संख्या बढेसँगै संक्रमितको व्यवस्थापन गर्न सकस भएको छ। सरस्वती माविको आइसोलेसनमा ३३ जना संक्रमितलाई राखिएको स्वास्थ्य सेवा कार्यालयका कोभिड–१९ फोकल पर्सन थीरप्रसाद रेग्मीले बताए।
यस्तै सरस्वती बिद्वाआ श्रमको भवनमा २२ जना संक्रमितलाई राखिएको छ। दुल्लुका कोरोना संक्रमितलाई दुल्लुमै, नौमूलेको नौमूलेकै आइसोलेसनबाट उपचार भईरहेको रेग्मीले बताए। ‘यसअघि क्वारेन्टाइनको रुपमा प्रयोग गरिएको नारायण क्याम्पसको भवनमा संक्रमितलाई राख्न थालेका छौ’ उनले भने। संक्रमितको रेखदेख, उपचार र व्यवस्थापनको समस्या भइरहेको रेग्मीको भनाइ छ।
त्यस्तै कर्णाली प्रदेशमा एकैदिन १ सय १४ जनालाई संक्रमण देखिएको छ। सुर्खेतस्थित पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लास्थित प्रयोगशालामा गरिएको परीक्षणमा थप १ सय १४ जनालाई संक्रमण पुष्टि भएको हो।
यससँगै कर्णालीमा संक्रमितको संख्या ३ सय ८९ पुगेको छ। स्वास्थ्य सेवा महाशाखाले सोमबार बनगाड कुपिण्डे नगरपालिका–३ सल्यान निवासी १७ र १९ बर्षीय पुरुष र दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिका ७ का ४५ बर्षीय पुरुषमा संक्रमण पुष्टि ग¥यो। तर, बिहीबारको रिपोर्टमा उनीहरुमा संक्रमण नदेखिएको महाशाखाले जनाएको छ। ती ३ जनामा भुलबस रिपोटिङ्ग भएको महाशाखाका अधिकारी बताउँछन्।