सिन्धुलीमा थपिए दुईजना कोरोना संक्रमित
सिन्धुली : सिन्धुली जिल्लामा थप दुईजनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भएको पुष्टि भएको छ । सिन्धुलीको कमलामाई नगरपालिका ११ का २३ वर्षीय र तिनपाटन गाउँपालिका ३ का २५ वर्षीय पुरुषमा कोरोना संक्रमण भएको पुष्टि भएको हो ।
सामाजिक विकास मन्त्रालयका कोभिड १९ फोकल पर्सन वरिष्ठ स्वास्थ्य प्रशासक डाक्टर पुरुषोत्तम राज सेढाइले थप दुईजनामा कोरोना पुष्टि गरेका हुन्। उक्त विज्ञप्तीमा कमलामाई नगरपालिका ६ मा रहेको क्वारेन्टाइनमा बस्दै आएका दुबै पुरुषमा बागमती प्रादेशीक अस्पताल हेटौंडामा गरिएको पीसीआर परीक्षणमा कोरोना भाइरस संक्रमण देखिएको हो ।
कोरोना भाइरस संक्रमित दुबैजनालाई सिन्धुली अस्पतालको आइसोलेसन कक्षमा राखेर उपचार थालिइएको छ । संक्रमति दुबैको अवस्था सामान्य रहेको छ । योसँगै सिन्धुलीका चारजनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सिन्धुलीमा बुधबारमात्र कमलामाई नगरपालिका-१४ स्थित चन्दनपुर मावि क्वारेन्टाइनमा बस्दै आएका २३ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको थियो ।
उनलाई सिन्धुली अस्पतालको आइसोलेसन कक्षमा राखेर उपचार सुरु गरिएको छ । त्यसअघि सिन्धुली ठेगाना भएकी एक महिलालाई काठमाडौमा कोरोना पोजिटिभ देखिएसँगै जिल्लामा संक्रमितको संख्या चार पुगेको हो ।
काठमाडौंमा कोरोना पोजिटिभ देखिएकी महिला भने उपचारपछि घर फर्केकी सकेकीछिन् ।संक्रमित व्यक्तिको प्रत्यक्ष सम्पर्कमा आएका व्यक्तिको कन्ट्याक ट्रेसिङको काम सुरु गरिएको जनाइएको छ।