प्रयोगशालाले धान्न नसकेपछि सुदूरपश्चिममा पाँच दिनका लागि स्वाब संकलन बन्द
धनगढी : सुदूरपश्चिममा जेठ महिनामा भारतबाट भित्रिएका ५९ हजार पाँच सय जना क्वारेन्टाइनमा बसिरहेका छन्। केहीले उपचारै नपाएर क्वारेन्टाइनमै मृत्युवरण गर्नुपरेको छ । यो बेलामा प्रदेश सरकारले धमाधम स्वाब संकलन गरी परीक्षणको दायरा बढाउनपर्ने हो तर सुदूरपश्चिम प्रदेशको स्वास्थ्य निर्देशनालयले अबका पाँच दिनसम्मका लागि स्वाब संकलन नगर्न निर्देशन दिएको छ ।
सुदूरपश्चिम प्रदेशका स्वास्थ्य निर्देशक डाक्टर गुणराज अवस्थीले धनगढीमा रहेको पीसीआर परीक्षणका लागि पाँच दिनभन्दा बढीका लागि नमूना रहेकाले अबको पाँच दिनसम्म स्वाब संकलन नगर्न निर्देशन दिएका हुन्।
निर्देशक अवस्थीले शुक्रबार प्रदेशभरीका सबै स्वास्थ्य संस्थालाई सम्बोधन गरी विज्ञप्ती नै प्रकाशित गरी भनेका छन, 'हाल सुदूरपश्चिम प्रदेशमा एउटा मात्रै पीसीआर जाँचको प्रयोगशाला रहेको र यस प्रयोगशालाको दैनिक जाँच क्षमता लगभग २५० नमूना मात्रै रहेकाले बिहीबारसम्मका मात्रै १०८३ जनाको स्वाब परीक्षण गर्न बाँकी छ ।'
'अहिले हरेक जिल्लामा स्वाब संकलन भइरहेको र यसरी दैनिक स्वाब संकलन भइरहने हो भने स्वाबका नमुना धेरै दिनसम्म थन्किाउनु पर्ने हुन्छ । धेरै दिन परीक्षण नगरी स्वाब थन्काइएमा बिग्रिने सम्भावना हुने भएकाले आगामी पाँच दिनसम्म स्वाब संकलन नगर्न अनुरोध छ,' निर्देशक डाक्टर अवस्थीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
कोरोनाको महामारीको चर्चा भइरहेका बेला मात्रै सेती प्रादेशिक अस्पतालमा चार घण्टामा एकजनाको मात्रै स्वाब परीक्षण गर्ने मेसिन स्थापना भएको थियो । त्यो मेसिन जडान गर्नु नगर्नुको कुनै औचित्य नभएको भन्दै विरोध भएपछि केन्द्रीय पशुरोग अन्वेषण प्रयोगशालामा रहेको रियल टाइम पीसीआर मेसिन धनगढीको क्षेत्रीय पशुरोग अन्वेषण प्रयोगशालामा जडान भएको थियो ।
चैतको ३० गते जडान भएको उक्त मेसिनको दैनिक क्षमता २५० हो । एक पटकमा ८० देखि ९० नमुना स्वाब परीक्षण गर्न सकिन्छ । त्यो एक लटमा कम्तीमा पनि चार देखि पाँच घण्टा लाग्ने गरेको प्रयोगशाला विज्ञ बताउँछन्। २४ घण्टामा तीन सिफ्टमा नमुना परीक्षण भइरहेको छ ।
तर पनि भारताबाट बिहीबारसम्म ६० हजार मानिस आएर क्वारेन्टाइनमा बसेका छन्। एक मात्र मेसिनमा स्वाब परीक्षण गर्न सकिरहेको छैन । डाक्टर अवस्थीले अर्को ठूलो क्षमताको मेसिन जडानको आवश्यकता आएको भन्दै केन्द्रमा जानकारी गराइसकेको बताए ।
उनले भने, 'नमुना संकलन गरेर मात्रै त हुँदैन, त्यसको परीक्षण पनि हुनुपर्यो, अहिले स्वाब संकलन भएको दिनदेखि पाँच दिनमा पनि परीक्षण रिपोर्ट दिन सकिएको छैन, अझ नमुना धेरै दिन राखेपछि बिग्रिने पनि हुन्छ, त्यसैले स्वाब संकलन रोक्नु परेको हो ।'
गत आइतबार मात्रै सुदूरपश्चिमका लागि २४ हजार आरडीटी किट र २ हजार भिटिएम (थ्रोट स्वाब संकलन गर्ने भाँडो) आएका थिए । सुदूरपश्चिमका ९ वटै जिल्लामा क्वारेन्टाइन बसिरहेका व्यक्तिहरुको अहिले आरडीटी परिक्षण भइरहेको छ । शुक्रबारसम्म एक हजार भन्दाबढीको आरडीटी पोजिटि देखिएको छ ।
सरकारको निर्देशीका अनुसार आरडीटी पोजिटिभ देखिएका व्यक्तिको थ्रोट स्वाब अनिवार्य परीक्षण गर्नुपर्ने व्यवस्था छ। त्यसैले पनि अहिले सुदूरपश्चिमभरी स्वाबको नमुना संकलन बढिरहेको छ । 
प्रदेश र संघ सरकारले भिटिएम नपठाएपछि केही स्थानीय तहले आफै भिटिएम खरिद गरेर समेत स्वाब संकलन गरिरहेका छन्।डडेल्धुराको गन्यापधुरा गाउँपालिकाले आफै भिटिएम किनेर १५० भन्दा बढी क्वारेन्टाइनमा रहेका नागरिकको स्वाब संकलन गरेको छ । तर प्रदेशका स्वास्थ्य निर्देशक अवस्थी भन्छन, 'स्वाब संकलन गर्नु मात्रै ठूलो कुरा होइन, प्रयोगशालाको क्षमता पनि हेर्नुपर्छ, प्रयोगशालामा पर्याप्त प्राविधिक जनशक्ति छैन।'
प्रतिक्रिया दिनुहोस !