रिपोर्ट ढिलाइ भएपछि तोडफोड गर्दै भाग्न थाले क्वारेन्टाइनमा बसेकाहरु
मलंगवा : सर्लाहीको गोडैता नगरपालिकास्थित विभिन्न क्वारेन्टाइनमा बसेकाहरु पीसीआर रिपोर्ट आउनमा ढिलाईपछि आक्रोशित हुन थालेका छन् ।
स्वाब लिएको ९ दिन बितिसक्दा पनि पीसीआर रिपोर्ट नआएपछि उनीहरु आक्रोशित बनेका हुन् । कोरोना भाइरसको परीक्षण गर्नका लागि जेठ १६ गते स्वाब कलेक्शन गरिएको थियो । रिपोर्ट आउनमा ढिलाइ भएपछि उनीहरु क्वारेन्टाइन छाडेर भाग्ने, स्वास्थ्यकर्मीलाई दुःख दिने, खानेपानीको पाइपमा ढुङ्गा हाल्ने, ढुङ्गा मुठा गर्ने जस्ता गतिविधि गर्न थालेको नगरपालिकाले जनाएको छ ।
पीसीआर रिपोर्ट आउनमा ढिलाइ भएपछि क्वारेन्टाइनमा बसेकाहरु आन्दोलित बनेका हुन् । मेयर देवेन्द्र कुमार यादवका अनुसार जेठ १६ गते नै २ सय ९१ जनाको स्वाब कलेक्शन गरेर पठाइएको थियो । तर, अहिलेसम्म रिपोर्ट आएको छैन ।
रिपोर्टमा ढिलाइ भएपछि बिहीबार मात्रै मधुवनी क्वारेन्टाइनमा बसेका १० जना भागेका थिए । घर पुगेपछि फेरि प्रहरी पुगेर उनीहरुलाई क्वारेन्टाइनमा ल्याएका थिए । सीमराको विद्यालयमा बसेकाहरु शुक्रवार राति तोडफोड गर्न थालेपछि स्वास्थ्यकर्मी क्वारेन्टाइन छोडेर भागेका थिए । गोडैता बजारको विद्यालयमा बसेकाहरु शुक्रबार बिहान स्वास्थ्यकर्मी माथि नै ढुङ्गा मुठा गरेको थियो ।
भारतबाट आएर क्वारेन्टाइनमा बसेको १४ दिन भन्दा बढी भइसक्यो । कतिपयको २० दिन भन्दा बढी भइसकेको छ । अहिले गोडैता नगरपालिकामा ३ सय ३० भन्दा बढी शंकास्पद बिरामी क्वारेन्टाइनमा छन् । उनीहरु लामो समयदेखि बसेकाले व्यवस्थापन गर्न पनि समस्या भइरहेको स्थानीय जनप्रतिनिधि बताउँछन् ।
यहाँ जम्मा १६ वटा क्वारेन्टाइन छन् । क्वारेन्टाइनमा बसेकाहरुको खाना र स्वास्थ्यकर्मीको व्यवस्थापन गर्नमा नगरपालिकालाई समस्या भइरहेको मेयर यादवको भनाइ छ । अहिले पनि भारतबाट आउने क्रम जारी छ । क्वारेन्टाइन पुरै भएिको छ । रिपोर्ट आउन भन्दा अगाडि नै घर पठाउन समस्या भएको मेयर यादव बताउँछन् ।