सुत्केरी आमालाई घिउ राहत
सिन्धुली : कमलामाई नगरपालिकाले सुत्केरी आमालाई घिउ वितरण गरेको छ । कोरोना भाइरस (कोभिड-१९) को संक्रमण त्रासका बीच भएको लकडाउनयता सुत्केरी भएका आमालाई नगरले एक किलोका दरले घिउ वितरण गर्न थालेको हो ।
कमलामाई नगरपालिकाकी उपप्रमुख मन्जु देबकोटाका अनुसार नगरले राहत स्वरुप गत चैत्र ११ गतेदेखि यता सुत्केरी भएका आमालाई एक केजीका दरले घिउ वितरण सुरु गरेको छ । यो नगरभरीका सुत्केरी आमालाई वितरण गरिनेछ । 'नगरले हालसम्म नगरको व ८, ९, १०, १३ र १४ का ५२ जना सुत्केरी आमालाई ५२ किलो घिउ वितरण गरेको छ,' देवकोटाले भनिन् ।
नगर पालिकाले ८ का १८ जना, ९ का १२ जना, १० का ६ जना, १३ का ३ जना र १४ नं. का १३ जनालाई घिउ वितरण गरेको हो । अन्य वडाका सुत्केरी आमाको तथ्यांङ्क संकलन गर्ने कार्य भएरहेको छ ।कमलामाई नगरपालिकाको विपद व्यवस्थापन निर्देशक तथा समन्वय समितिको बैठकको निर्णय अनुसार गत चैत्र ११ गतेदेखि हालसम्म सुत्केरी भएका आमाका लागि यो राहत प्याकेज वितरण गरिने छ ।
लकडाउन थप भइरहे लकडाउन अवधिभर नै सुत्केरी हुने आमालाई घिउ वितरण गरिने छ ।लकडाउनका कारण स्थानीय बजार बन्दहुँदा कृषकले उत्पादन गरेको घिउ बजारसम्म बिक्रीका लागि ल्याउन सकिएको छैन् । जसका कारण कतिपय सुत्केरी आमालाई खुवाउन घिउको जोहो गर्न नसकिएको बेला विपन्न तथा मजदुर आमाका लागि भने राहत पुगेको छ ।