आठ किलो चरेशसहित ३ जना पक्राउ
मलंगवा : सर्लाहीको मलंगवाबाट ८ किलो लागुऔषध चरेशसहित प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मलंगवा नगरपालिका ८ का ४० वर्षीय रामदुलार राय, वडा नं. ४ का २४ वर्षीय नथुनी ठाकुर र वडा नं. ३ का २८ वर्षीय मोहन राय यादव रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । मोहन राय एम्बुलेन्स चालक पनि हुन् ।
नेपालबाट भारतको सोनवर्षातर्फ शनिवार राती चरेश लैजाँदै गरेको अवस्थामा मलंगवा ८ सीमा नजिकै झिलमिलिया माई मन्दिरबाट प्रहरीले रामदुलार रायलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट प्रहरी निरीक्षक राजुप्रसाद कुर्मीको नेतृत्वमा गएको टोलीले ८ किलो चरेशसहित रामदुलारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायव उपरीक्षक मदन कुवँरले जानकारी दिएका छन् ।
पक्राउ परेका रामदुलारसँग सोधपुछ गर्दा ज १ च १४०७ नम्बरको एम्बुलेन्स चालक मोहन रायले उत्तरी क्षेत्रबाट ल्याइ भारत पुर्याइदिनका लागि आफूलाई चरेश दिएको बताएका छन् । रामदुलारले दिएको बयानको अधारमा प्रहरीले एम्बुलेन्स चालक मोहनलाई खोजतलाश गरी प्रक्राउ गरेको हो । सोही क्रममा प्रहरीले मोहनले चलाउँदै आएको एम्बुलेन्स चेकजाँच गर्दा त्यसमा पनि १ सय ३५ ग्राम लागुऔषध चरेश बरामद भएको प्रहरी नायव उपरीक्षक कुवँरले जानकारी दिए ।
पक्राउ परेकालाई लागु औषधओसार पसार नियन्त्रण ऐन सम्बधि कारवाही गरिने जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । घटनाबारे थप अनुसंधान भइरहेको छ । यसै क्रममा प्रहरीले धनकौल गाउँपालिका वडा नं. ३ बागमती नदिको किनारबाट लागुऔषध वालटेक्ससहित दुईजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सिरहा जिल्ला गोलबजार नगरपालिका १ घर भइ हाल सर्लाहीको बागमती नगरपालिका १० शंकरपुर ससुराली बस्ने वर्ष ३४ को सुनिल ठकुरी र बहरथवा नगरपालिका ५ हाथी डन्डाका २२ वर्षीय इन्दल राम रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । ज ४ प २०७४ नम्बरको मोटरसाइकलमा जिल्लाको दक्षिणी क्षेत्र बलरा नगरपालिकाबाट राजघाट शंकरपुरतर्फ आउँदै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो । उनीहरुको साथबाट प्रहरीले वालटेक्स सय एमएलका २ सय ६९ बोत्तल बरामद गरिको हो ।
सुनिलले मोटरसाइकल चलाउँदै गरेको र इन्दल पछाडि बसी बोरामा लागुऔषध बीचमा राखेर ल्याउँदै गरेको अवस्थामा पक्राउ गरिएको हो ।