क्वारेन्टाइनमा मृत्यु भएका युवकको पीसीआर रिपोर्ट नआउँदै दाहसंस्कार
बैतडी : भारतबाट फर्किएर क्वारेन्टाइनमा मृत्यु भएका बैतडीका युवकको पीसीआर रिपोर्ट नआउँदै दाहसंस्कार गरिएको छ । शनिबार राती मृत्यु भएका पाटन नगरपालिका ६ का ३० वर्षीय युवकको पीसीआर रिपोर्ट नआउँदै दाहसंस्कार गरिएको हो ।
२३ गते भारतको बेंग्लोरबाट आएका उनी कैलालीको गौरीफन्टा नाका हुँदै शनिबार मात्रै पाटन पुगेका थिए । शनिबार बिहान पाटन ६ स्थित भीमदत्त प्राविधिक शिक्षालय क्वारेन्टाइनमा बसेका युवकको शनिबार राती साढे आठ बजेतिर मृत्यु भएको थियो । उनीसँगै अन्य १३ जना पनि भारतको बेंगलोरबाट पाटन आएका छन्।
मृतकका आफन्तले दाहसंस्कारका लागि कर गरेपछि आफन्तलाई शव जिम्मा लगाइएको पाटन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले बताए । उनले भने, 'हामीले मृतकको स्वाब संकलन गरेर पीसीआर परीक्षणका लागि पठाएका छौं। आफन्तले दाहसंस्कार गर्छौं भनेपछि शव दिएका हौं ।'
मृतकको दाहसंस्कारमा खटिएका ६ जनाले आफूहरु आइसोलेसन बस्न तयार रहेको बताएका छन्।यता बैतडीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले भने आवश्यक कानुनी प्रक्रिया र सुरक्षा सतर्कता अपनाएर मृतकको दाहसंस्कार गरिएको बताए।