रंगकर्मीका सुनौला आशा

रंगकर्मीका सुनौला आशा

काठमाडौं : कोरोना भाइरसको महामारीका कारण लकडाउन थपिँदै जाँदा सबै क्षेत्र प्रभावित भएको छ। यो अवस्थामा नेपाली रंगमञ्चलाई प्रत्यक्ष असर परेको छ। रंगमञ्चमै आफ्नो भविष्य खोजिरहेका नवरंगकर्मीलाई यसले झनै असर पारेको छ। सबथोक त्यागेर रंगमञ्चमै केही गर्छु भनेर लागेका नवरंगकर्मी अहिले के सोचिरहेका छन् त ?     

थिएटर मलबाट प्रशिक्षण लिएर विगत चर वर्षदेखि रंगमञ्चमा सक्रिय रंगकर्मी हुन्, सेबिता अधिकारी (अनुजा)। आधा दर्जनभन्दा बढी नाटकमा अभिनय गरेकी सेबिताले यही क्षेत्रमा आफ्नो भविष्य बनाउने अठोट गरेकी थिइन्। तर, लकडाउनले दिनचर्या फेरिएपछि रंगकर्मबाहेक अन्य विकल्प खोज्नुपर्ने बेला आएको उनी बताउँछिन्। ‘अहिले नभए पनि पछि त होला नि भन्ने थियो। तर, यस्तो महामारीले रंगमञ्च क्षेत्र नै ठप्प हुने रहेछ। यसबाट मैले अन्य विकल्प पनि खोज्नुपर्छ भन्ने बुझेँ’, उनी भन्छिन्, ‘म अब सर्ट मुभी बनाउने योजनामा छु।’

‘रंगकर्मीहरू अब झन् जुर्मुराएर आउनेमा म ढुक्क छु’, सेबिता भन्छिन्, ‘अब रंगकर्मीलाई कसरी अगाडि बढाउने भन्ने चुनौती हामीजस्ता नवरंगकर्मीको काँधमा आएको छ। यसका लागि नयाँ योजनाका साथ आउनुपर्छ।’

सर्वनाम थिएटरबाट प्रशिक्षण लिई रंगमञ्चमा प्रवेश गरेका अर्का नवरंगकर्मी हुन् कृष्ण खड्का। सुरुसुरुमा उनलाई यो क्षेत्रमा आउँछु जस्तो लागेको थिएन। तर, आएपछि छोड्नै सकेनन्। यही क्षेत्रमा आफूलाई स्थापित गर्छु भन्ने सोचले पकेट थिएटरका संस्थापक सदस्य पनि भए। यस क्षेत्रमा लागेको तीन वर्षमा उनले ‘सब ठीक छ !’ र ‘निधार’ गरी दुई नाटक आफ्नै लेखन र निर्देशनमा मञ्चन गरे। यसको साथै उनले दर्जनौं नाटकमा ब्याकस्टेजमा काम गरेका छन्।

खड्का लकडाउनपछि के गर्ने भन्ने अन्योलमा छन्। ‘स्थापित भइसकेका रंगकर्मीहरूले पनि यसपछि के होला भन्ने अन्योलमा छन् भने हामीजस्ता नवरंगकर्मीलाई झनै चुनौतीको विषय हो’, भन्छन्, ‘मलाई लाग्छ अब नवरंगकर्मीहरू यस क्षेत्रमा सायदै फर्केलान्।’

रंगमञ्च एउटा समूहमा काम गर्ने ठाउँ हो। तर लकडाउनले तितरबितर पारेको छ। लकडाउनपछि पहिले जस्तै समूह बन्ला भन्न सकिने अवस्था नरहेको खड्काको भनाइ छ। उनी आफ्नो योजना सुनाउँछन्, ‘मैले त अरू केही व्यापार गर्ने सोचिरहेको छु। ६ महिना आयआर्जनको काम गर्ने र फुर्सद निकालेर नाटक गर्ने योजनामा छु।’

गायक बन्ने सोचले कला क्षेत्रमा छिरेका तर आफूलाई छोटो समयमै गायकभन्दा पनि एक रंगकर्मीका रूपमा चिनाएका नवरंगकर्मी हुन्, दीपक पछल्डंग्या। मण्डला थिएटरबाट प्रशिक्षण लिएका उनले करिब आधा दर्जन नाटकमा अभिनय गरिसकेका छन्।

पछल्डंग्याले नाटक गर्दै जाँदा जब उनले आफ्नै मातृभाषा थारूको नाटक ‘करोट’ मा अभिनय गरे। तब उनी अब रंगमञ्चको माध्यमबाट आफ्नो कला, संस्कृति देखाउनुपर्छ भन्ने लागेर रंगकर्म कहिल्यै नछोड्ने अठोट गरे। तर उनको अठोटले काँचुली फेरेन। भन्छन्, ‘रंगमञ्च आफ्नो कला, संस्कृति देखाउने निकै सशक्त माध्यम हो। तर, यो निकै खर्चिलो र चुनौतीपूर्ण क्षेत्र हो। त्यसैले नवरंगकर्मीले यसमा टिकिरहन आर्थिक रूपमा पनि बलियो हुनुपर्ने रहेछ।’ यही सोचले उनले सिनामंगलमा होटल व्यवसाय सुरु गरेका छन्। लकडाउनपछि सर्ट मुभीको तयारीमा रहेका उनी रंगमञ्च छाड्ने मनस्थितिमा छैनन्।

पहिलो नाटक ‘माधवी’ बाट दर्शकको मन जितेकी एक नवरंगकर्मी हुन्, अर्चना पन्थी। उनी पाँच वर्षयता रंगकर्ममा सक्रिय छिन्। उनलाई कोरोना महामारीको अवस्था नियाल्दा रंगमञ्च मात्रै भनेर बस्ने हो भने गाह्रो हुने महसुस भयो। त्यसैले उनी अहिले अनलाइनमार्फत काम गर्न सकिने एक कम्पनीमा आबद्ध भएकी छन्।

अर्चनाको बुझाइमा जो प्यासनले रंगमञ्च क्षेत्रमा लागेका छन् उनीहरू पक्कै पनि लकडाउनपछि आउने नै छन्। अब प्रविधिको प्रयोग गरेर कसरी रंगमञ्चलाई अगाडि बढाउन सकिन्छ भन्नेबारे छलफल र बहस गरे कुनै न कुनै समाधान आउन सक्छ भन्ने उनको जिकिर छ।

सर्वनाम तथा एक्टर्स स्टुडियोबाट प्रशिक्षण लिएर विगत पाँच वर्षदेखि रंगकर्ममा लागेका अर्का नवरंगकर्मी आशिष श्रेष्ठ भन्छन्, ‘कोरोना महामारीले निम्त्याएको अवस्था रंगकर्मीहरूका लागि परीक्षाको घडी हो। चाँडै रंगमञ्चले गति लिनेछ। तर राज्यले पनि हेर्नु जरुरी छ।’ उनी जीवनमा रंगमञ्चबाहेक अन्य काम सोचेकै छैनन्।

रंगमञ्चमा आफूलाई समर्पित गर्ने अठोट लिएका आशिष अगाडि भन्छन्, ‘रंगकर्मीको जीवन न भुइँमा छ न आकाशमा। तर, हामीले टेक्ने प्रयास गरिरहनुपर्छ। सुनौलो दिन अवश्य आउनेछ।’ करिब आधा दर्जन नाटकमा अभिनय गरिसकेका आशिषले भारतको ‘एनएसडी’ मा आफ्नो प्रस्तुति देखाइसकेका छन्।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.