सप्तरीमा २२ जना कोरोना संक्रमित थपिए
राजविराज : सप्तरीको बलान बिहुल गाउँपालिकामा सोमबार एकैपटक १६ जना र राजविराजमा ६ जनामा कोरोना पोजिटिभ देखिएको छ । बलान बिहुल गाउँपालिकाको १ देखि ६ का १२, १८, १९, २०, २१, २३, २५, २९, ३२, ३३, ३४, ३६, ३७, ३७, ३९, ४५ वर्षका व्यक्ति संक्रमित भएको जिल्ला स्वास्थ्य कार्यालय, सप्तरीले जानकारी दिएको छ ।
जसमा एक जना ३७ वर्षीया महिला हुन् । भारतको दिल्लीबाट जेठ ४ गते आएका उनीहरु बलान बिहुल गाउँपालिका ६ स्थित जागेश्वर जगरैता मावि सेहरा रौतहटको क्वारेन्टाइनमा बसेका छन् । यसैगरी सोमबार राजविराज नगरपालिका १, ११ र १३ नम्बर वडाका १४, १९, २०, २३, ३४ र ४० वर्षका व्यक्ति संक्रमित भएको जिल्ला स्वास्थ्य कार्यालय, सप्तरीका बरिष्ठ मलेरिया इन्स्पेक्टर नारायणप्रसाद राउत बरैले बताए । जसमा ४० वर्षीया महिला हुन् । भारतको विभिन्न राज्यबाट जेठको दोस्रो साता आएका उनीहरु राजविराज १ स्थित राजदेबी माविको क्वारेन्टाइनमा बसेका छन् ।
सोमबार सप्तरीमा २२ जना थप भएपछि सप्तरीमा संक्रमित हुनेको सङ्ख्या ९९ पुगेको छ । जिल्लामा हालसम्म बलान बिहुल गाउँपालिकामा सबैभन्दा बढी २७ जना संक्रमित देखिएका छन् । बलान बिहुल गाउँपालिकामा शनिबार दुई वर्षीया बालिकासहित सात जना कोरोना संक्रमित थपिएका थिए । त्यसअघि बलान बिहुलमा जेठ १५ गते १ जना, जेठ १३ गते २ जना र जेठ ९ गते १ जना संक्रमित पुष्टि भएका थिए ।
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणअनुसार कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय, सप्तरीका बरिष्ठ मलेरिया इन्स्पेक्टर बरैले बताए । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गर्ने तयारी गरिरहेको छ । संक्रमित सबैलाई राजविराज २ स्थित साईकृष्णा मेडिकल कलेज एण्ड हस्पिटलस्थित आइसोलेशन सेन्टरमा ल्याउने तयारी भइरहेको अस्पतालका डा. रणजितकुमार झाले बताए ।
सप्तरी जिल्लामा हालसम्म बलान बिहुल गाउँपालिकामा २७ जना, बोदेबसाईन नगरपालिकामा २० जना, राजगढ गाउँपालिकामा १३ जना, डाक्नेश्वरी नगरपालिकामा १२ जना, राजविराज नगरपालिकामा ११ जना, हनुमाननगर कंकालिनी नगरपालिकामा ६ र छिन्नमस्ता गाउँपालिकामा ५ जना संक्रमित भएका छन् । खडक, सुरुङ्गा र शम्भुनाथ नगरपालिका तथा विष्णुपुर र तिरहुत गाउँपालिकाका १÷१ जना कोरोना संक्रमित पुष्टि भएको छ । संक्रमित पुष्टि भएकामा ६ महिला छन् । जसमध्ये १ जना डिस्चार्ज भएका छन् ।