प्यूठानमा थप ८ जनालाई कोरोना
प्यूठान : प्यूठानमा थप ८ जनालाई कोरोना संक्रमण भएको पुष्टि भएको छ। संक्रमित हुनेहरु सबै प्यूठान नगरपालिकाका हुन्। वडा नम्वर २ का तीन जना र वडा नम्वर ३ का पाँच जनालाई कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख विशाल सुवेदीले जानकारी दिए। उनका अनुसार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परिक्षण अनुसार संक्रमित पुष्टि भएका हुन्।
संक्रमित हुनेहरुमध्ये एक जना महिला र सात जना पुरुष छन्। प्यूठान नगरपालिका-३ का वडा अध्यक्ष प्रेम हमालका अनुसार सबै संक्रमितहरु केही दिन अघि भारतबाट आएका थिए। उनीहरुलाई सरस्वती प्राथमिक विद्यालय सेपुङको क्वारेन्टाइनमा राखिएको छ। दुई वटै वडा जोडिएका भएकाले सवैलाई एउटै विद्यालयको क्वारेन्टाइनमा राखिएको थियो। योसँगै प्यूठानमा संक्रमित हुनेको संख्या १२ पुगेको छ। यसअघि स्वर्गद्धारी नगरपालिका र सरुमारानी गाउँपालिकामा १/१ र माण्डवी गाउँपालिकामा २ जना संक्रमित भएका छन्।