क्वारेन्टाइनमा बसेका ७२ जनालाई एउटै शौचालय
मुगु : कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि भारत तथा अन्यत्र जिल्लाबाट आएकालाई १४ दिनसम्म राख्ने व्यवस्था गरेको क्वारेन्टाइनमा बसेका ७२ जनाले एकै शौचालय प्रयोग गर्ने गरेका छन् । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि छाँयानाथ रारा नगरपालिकाले भारत तथा अन्य जिल्लाबाट आएका नगरबासीलाई १४ दिनसम्म राख्न श्री महाँकाली माध्यमिक विद्यालयमा व्यवस्था गरेको क्वारेन्टाइनमा रहेका ७२ जनाले एकै शौचालय प्रयोग गुर्न परेको गुनासो गरेका हुन् ।
'छायाँनाथ रारा नगरपालिकाले भारतबाट आएका नौ र अन्य जिल्लाबाट आएका ६३ जनालाई क्वारेन्टाइनमा राखेको छ । क्वारेन्टाइनमा बसेकाहरु एकै शौचालय प्रयोग गर्नु परेको छ । खानेपानीको राम्रो व्यवस्था छैन । नगरपालिकाले कुनै वास्ता गरेको छैन ', काठमाडौंबाट आइ शनिबारबाट क्वारेन्टाइनमा बसेका छाँयानाथ रारा नगरपालिका—४ का दिपेश भामले भने, ' बसाइ जस्तो भए पनि शौचालय र खानेपानीको व्यवस्था गरिदिए १४ दिनसम्म आरमै तरिकाले बस्ने थियौँ । सरसफाईका कुनै सामग्री छैन । क्वारेन्टाइनमा बसेका आफूहरुलाई भेडा बाख्रा जस्तैगरी राखिएको छ।'
यस्तो क्वारेन्टाइनमा बस्नु भन्दा बरु प्रहरी प्रशासनसँग लिखित कागज गरेर आफ्नै घरका होम क्वारेन्टाइनमा बस्ने व्यवस्था गरेको भए हुने उनले बताए। क्वारेन्टाइनमा शौचालय र खानेपानीको हालत देख्दा १४ दिन कसरी बिताउने चिन्ता छ। सक्रमण शौचालयबाटै सर्ने त्रास रहेको क्वारेन्टाइनमा रहेकाहरुले गुनासो गरेका छन् ।
शनिबार काठमाडौंबाट आएकाले आफूहरु प्रहरी प्रशासनसँग लिखित गरेर छाँयानाथ रारा नगरपालिका—२ र ४ नम्बर वडाका वडा अध्यक्षको रहोबरमा आफू होम क्वारेन्टाइनमा बस्ने अडान गरी नगरपालिकाले व्यवस्थापन गरेको क्वारेन्टाइनमा नबस्ने भनपछी केही बेर प्रहरी र काठमाडौंबाट आएकाबीच विवाद भएको थियो । विवाद हुँदा प्रहरी लाठी चार्ज गरेर राति एक बजे क्वारेन्टाइनमा राखेको थियो । हाल क्वारेन्टाइनमा राखेका सबैको पिसिआर परीक्षणसमेत सुरु गरिन लागेको छ ।