कालिकोटमा सामाजिक दुरी कायम गरी रोपाईं
कालिकोट : यस वर्ष समयमै निरन्तर बर्ष भएपछि जिल्लामा किसानहरुले लकडाउनका बाबजुत सामाजिक दुरी कायम गरी रोपाईं सुरु गरेका छन्। विश्वभरी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको रोकथामका लागि सरकारले गरेको लकडाउनका बाबजुत जिल्लामा स्थानीय किसानहरुले सामाजिक दुरी कायम गरी रोपाईं सुरु गरेका हुन्।
जिल्लाको रास्कोट नगरपालिका-२ का स्थानीय किसानहरु हिजो आज रोपाईंमा व्यस्त छन्। उनीहरुले जेठ महिनाभित्र रोपिसक्नु पर्ने नेपाली जातको धान लकडाउनका बाबजुत रोप्न थालेका छन्। स्थानीय किसान हेमराज चौलागाईने भने, 'समयमै वर्षा भएकाले लकडाउन भए पनि रोपाईं सुरु गरिएको छ। 'विगतका वर्षहरुमा खडेरी परेर रोपाईं ढिलो सुरु हुन्थ्यो। यस वर्ष समयमै लगातार पानी परेकाले जेठमा रोप्नु पर्ने नेपाली जातको धान रोपेका हौं' उनले भने 'आफ्नो दुई रोपनी खेतमा धान रोपाईं सकिएको छ। गाँउका अन्य किसानहरु पनि धान रोप्ने कार्यमा ब्यस्त छन। कोरोनाको त्रास गाँउमा उच्च छ। तर सामाजिक दुरी कायम गरी रोपाईं कार्य सुरु गरेका हौँ।'
यस्तै पलाँता गाँउपालिका-२ निवासी सुमन बमले पलाँतामा पनि लकडाउनका बेला सामाजिक दुरी कायम गरी रोपाईं सुरु गरिएको बताए। उनले भने 'पलाँताको थिर्पु, दुर्सी, तिप्गाडमा रोपाईं सुरु गरिएको छ। समयमै वर्षा भएपछि स्थानीय किसानहरु खुसी छन्। यस वर्ष धान खेती राम्रो हुने र उत्पादन पनि बढ्ने अनुमान छ। कृषि विकास कार्यालय कालिकोटले जिल्लामा १० प्रतिशत रोपाईं भईसकेको जनाएको छ। कृषि विकास कार्यालय कालिकोटका प्रमूख भरत बस्नेतले विगतका वर्षहरुमा असार महिनाको पहिलो सातादेखि सुरु हुने रोपाईं यस वर्ष मौसमले साथ दिएर समयमै वर्षा भएका कारण जेठको दोस्रो सातादेखि नै रोपाईं सुरु भएको बताए।
यस वर्ष जेठ महिनामै प्रयाप्त वर्षा हुँदा स्थानीय किसानहरु खुसी छन्। उनले भने 'यस वर्ष धान उत्पादनमा पनि वृद्धि हुने अनुमान छ। उनका अनुसार जिल्लामा कुल १७ हजार ९ सय ८४ हेक्टर खेती योग्य जमिन रहेको छ। जस अन्तर्गत पनि ८ हजार ७ सय ५० हेक्टर जमिनमा मात्र खेती भइरहेको छ। जसमा कुल २ हजार ५ सय १५ हेक्टर जमिन धान खेती हुँदै आएको छ। अरु बाँकी जग्गामा मकै कोदो फापर, सिमीलगायतका रैथाने बालीहरु लगाउने गरिएको छ। मकै लगाउने जमिनमा पनि मकै लगाउने कार्य चलिरहेको छ। स्थानीय किसानहरुलाई सामाजिक दुरी कायम गरी खेतीपाती गर्न आग्रह गरिएको उनको भनाई छ।