श्रीमानको सम्पत्ति हड्प्न दुई पटक मृत्यु दर्ता गराउनेसहित ११ विरुद्ध मुद्दा
काठमाडौं : आफ्नो फाइदाका निम्ति मृत्यु दर्ता गराउने झापाको साविक कोहबरा गाविसका तत्कालीन सचिव रामप्रसाद न्यौपानेसहित ११ जनाविरुद्ध मुद्दा दायर गरिएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले श्रीमानको सम्पत्ति हात पार्न दुई पटक मृत्यु दर्ता गराउने रेनुका चम्लागाई, तत्कालीन वडासचिव मोहनप्रसाद ओली,तत्कालीन कार्यालय सहयोगी दलबहादुर खत्री, स्थानीय महानन्द सापकोटा, राजेन्द्र भन्ने गिरीराज श्रेष्ठ, चिन्तामणि बुढाथोकी, रमेश भन्ने रोमनाथ दाहाल, लक्ष्मीप्रसाद वस्ताकोटी, टंक प्रसाद बजगाई, बालकृष्ण न्यौपानेलाई प्रतिवादी बनाएर विशेष अदालतमा मुद्दा दायर गरेको हो।
अख्तियारका अनुसार मोरङको लेटाङ भोगटेनी २ का हरिप्रसाद चम्लागाईको २०६४ साउन २१ मा मुत्यु भएको थियो। उनका दुई श्रीमती रेनुका र हुमादेवी थिए। जेठी रेनुका र हुमादेवीले संयुक्त दस्तखतमा लेटाङमा नै मुत्यु दर्ता गराएका थिए। जेठी रेनुकाले दमक नगरपालिका १ का रहेको कित्ता नम्बर १८४२३ को १ कठ्ठा जग्गा एकलौटीरुपमा हत्याउन पुन ः हरिप्रसादको मृत्यु दर्ता गराएको अख्तियारको अनुसन्धानबाट खुलेको छ।
साविकको कोहबरा गाविसका सचिव न्यौपानेसँगको मिलोमतोमा रेनुकाले नक्कली मृत्युदर्ता र बसाईसराई बनाइएको खुलेको अख्तियारले जनाएको छ। रेनुकासँग मिलेमतो गरी योजनावद्ध रुपमा बदनियतपूर्वक मृत्युदर्ता प्रमाणपत्र र बसाईंसराई प्रमाणपत्र जारी गरी गलत लिखत तयार गर्ने गाविस सचिव न्यौपानेसहित ९ जनाविरुद्ध भ्रष्टाचार निवारण ऐनबमोजिम सजाय मागदाबी गरिएको छ।